काठमाडौं - महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा बस्ती हटाउने प्रयासको विरोधमा स्थानीयवासीले आन्दोलन गरेका छन् ।
प्रशासनले ५० वर्षभन्दा पुरानो कालापानी वन क्षेत्रमा रहेको बस्ती हटाउने तयारी थालेपछि स्थानीयवासी विरोधमा उत्रिएका हुन् ।
आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग तथा बीपी राजमार्ग हुँदै आवतजावत गर्ने सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् । यात्रुहरू समस्यामा परेका छन् ।
हिजो साँझ बस्ती खाली गराउने विषयमा सूचना दिन पुगेका वन कर्मचारीहरूलाई स्थानीयले राति १२ बजेसम्म नियन्त्रणमा राखेका थिए । त्यसपछि रातिदेखि नै बीपी राजमार्ग अवरुद्ध गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
आन्दोलन उग्र बन्दै जाँदा प्रदर्शनकारीहरूले वन कार्यालयको एउटा गाडीमा आगजनी गरेका छन् । गाडी पूर्ण रूपमा जलेर नष्ट भएको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रले जानकारी दिनुभयो । घटनापछि क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।
प्रहरीले हस्तक्षेप गर्दै राति अवरुद्ध सडक खुलाएको र स्थानीयको नियन्त्रणमा रहेका वन कर्मचारीलाई सकुशल उद्धार गरिएको जनाएको छ । तर आज बिहानदेखि पुनः स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शन जारी राखेका छन् ।
स्थानीयवासीले वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँबाट वैकल्पिक व्यवस्था बिना जबर्जस्ती हटाउन खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
कालापानी क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । स्थानीय बासिन्दाले माग सम्बोधन नगरी बल प्रयोग गरेर हटाउन खोजिए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरूले सरकारसँग वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेका छन् ।


0 comment