काठमाडौं - हुम्ला–बाजुरा सीमा बिवादकै कारण कर्णाली करिडोर अनिश्चितकालीन बन्द गरिएको छ । जेठ ५ गते भएको झडपको विषयलाई लिएर बाजुरा जिल्लाका युवाहरुले कर्णाली करिडोर अन्त्रगतको पिलुचौर कवाडी सडक खण्ड पुनः बन्द गरेका छन् ।
सुदुरपश्चिम सरकारले लाम्पाटा च्याचौरमा निर्माण गर्न लागेको प्रहरी चौकीको विषयलाई लिएर भएको झडपमा परी घाइते भएकाहरुको उपचार गराउनु पर्ने, उक्त घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने लगायतका माग राख्दै हिमाली युवा समूहले जेठ ७ र ८ गते कर्णाली करिडोरको पिलुचौरदेखि कुवाडी खोलासम्म सडकमा टायर बाली नाराबाजीसहित सडक पूर्णरुपमा बन्द गरेका थिए ।
उक्त सडकमा हुम्लाका नागरिक मात्रै नभएर मुगु र हुम्लासहित कैलाश मानसरोवर दर्शन गर्ने नागरिकहरु समेत अलपत्र परेका थिए । उतिबेला धुलाचौरमा रहेका हुम्लाका नागरिकले गर्दै आएका व्यबसाय समेत बन्द गरिएका थिए । उक्त बन्द पश्चात जिल्ला प्रशासन कार्यालय बाजुराले सहजीकरण गरी ६ बुँदे माग राख्दै २४ घण्टाको लागि बन्दलाई स्थगित गरेकोमा आफ फेरि अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ ।
लाम्पाटामा भएको घटनाको स्थलगत अनुगमन गरी सर्जमिन मुचुल्का बनाउने, उक्त घटनामा संलग्न जोकोही दोषीलाई कानुनी दायरामा ल्याउने तथा लुटिएका ब्यक्तिगत तथा सार्वजनिक सम्पतिहरुको क्षतिपूर्ति पीडितलाई उपलब्ध गराउने, कुटपिटमार्फत घाइते भएकाहरुको उपचारका लागि पीडक पक्षले पीडित पक्षलाई उपचारको पूर्ण क्षतिपूर्ति उपलब्ध गराउने, लाम्पाटा, च्याचौराका विस्तापित परिवारलाई स्थापित गरी सुरक्षाको प्रत्याभुति दिलाउने, प्रहरी चौकी निर्माण कार्य अघि बढाउने लगायतका मागहरु पुरा गर्नको लागि २४ घण्टाको अल्टिमेटम दिएर सडक सुचारु गरिएको थियो ।
जेठ ८ गते बसेको सर्बदलीय, सर्बपक्षीय बैठकले गरेका माथि उल्लेखित कार्यहरु हुम्ला पक्षले कुनै सुरु नगरेको भन्दै आज फेरि ५ बुँदे माग राख्दै अनिश्चितकालीन सडक अवरुद्ध गरिएको छ । हिमाली युवा क्लबद्वद्धारा जारी गरिएको प्रेस विज्ञप्ती अनुसार माथि उल्लेखित यसअघि सर्बदलीय सर्बपक्षीय बैठकद्वारा गरिएका कार्यहरु पुरा नभएसम्मको लागि सडक पूर्णरुपमा बन्द गरिएको उल्लेख गरिएको छ । यता हुम्ला जिल्ला प्रशासन कार्यालयले जिल्लाको सामुहिक धारण तय गर्नको लागि अहिले सर्बदलीय तथा सर्बपक्षीय बैठक बसिरहेको जनाएको छ ।


0 comment