काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने जनाएका छन्। सर्वोच्च अदालतमा पदवहाली गर्दै प्रधानन्यायाधीश शर्माले न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने बताएका हुन्।
उनले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता नै लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै जनविश्वासयुक्त न्यायपालिकाको आफ्नो कार्यकालको मूल ध्येय रहने घोषणा गरे। उनले भने,‘ शंका उत्पन्न हुने कुनै पनि कार्य मबाट हुन्न । मेरो पहिलो र सर्वोच्च प्राथमिकता भनेकै स्वतन्त्र न्यायपालिकालाई पूर्णरूपमा अक्षुण राख्नु हो। ’
प्रधानन्यायाधीश शर्माले आफूले यो जिम्मेवारीलाई केवल पदको रूपमा मात्र नलिई संविधान, विधिको शासन, न्यायिक स्वतन्त्रता तथा नागरिकको न्यायप्रतिको विश्वासलाई अझ सुदृढ बनाउने दायित्वको रूपमा ग्रहण गरेको बताए।


0 comment