काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाले श्रम तथा रोजगारसम्बन्धी सेवा प्रवाहलाई डिजिटल माध्यमबाट एकीकृत गर्ने उद्देश्यसहित ‘श्रम संसार ’ प्रणालीमा आबद्ध हुन सरोकारवालाहरूलाई आग्रह गरेको छ।

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मिति २०८३ वैशाख ४ गतेको पत्रका आधारमा नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै नगरभित्र रहेका निजी क्षेत्रका रोजगारदाता, रोजगार खोजकर्ता, जब एजेन्सी तथा तालिम प्रदायक संस्थाहरूलाई ७ दिनभित्र अनिवार्य रूपमा प्रणालीमा दर्ता हुन आग्रह गरेको हो।

नगरपालिकाका अनुसार सम्बन्धित निकायहरूले मिति २०८३ वैशाख १७ गतेभित्र ‘श्रम संसार’ मा आबद्ध भई श्रम तथा रोजगारसम्बन्धी सूचना, रोजगारीका विज्ञापन तथा तालिमका अवसरहरू सोही प्रणालीमार्फत प्रकाशन गर्नुपर्नेछ।

डिजिटल प्रणालीमार्फत सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीद्वारा जारी सूचनामा जनाइएको छ। ‘श्रम संसार’ मा आबद्ध हुन इच्छुकले आधिकारिक वेबसाइट shramsansar.gov.np वा नागरिक एप, मोबाइलको प्ले स्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सक्नेछन्।

थप जानकारीका लागि कागेश्वरी मनोहरा नगरपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न सकिने जनाइएको छ। नगरपालिकाले आधुनिक प्रविधिमैत्री सेवा विस्तार गर्दै श्रम बजारलाई व्यवस्थित बनाउने लक्ष्य लिइएको जनाएको छ।