काठमाडौं - संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले बस्ती हटाउने निर्णय कार्यान्वयन नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण गराइएको छ । मोर्चाको नेतृत्वमा शुक्रबार काठमाडौंको वनस्थलीस्थित रास्वपा पार्टी कार्यालयमा पुगेर बस्ती हटाउने निर्णय कार्यान्वयन नगर्न माग गरिएको हो ।
उनीहरुले पार्टी कार्यालयमा रास्वपाका केन्द्रीय सदस्य खेमराज साउदलाई ध्याकर्षण पत्र बुझाएको जनाएका छन् । सो क्रममा मानव अधिकार उल्लंघन हुने गरी काम नगर्ने र यस विषयमा सरकारसंग कुरा भइरहेको जवाफ प्राप्त भएको मोर्चाका महासचिव अर्जुन कुँवरले जानकारी दिए । आफूहरु सकारात्मक सन्देश आउने विश्वासमा रहेपनि सहजताका साथ एकताबद्ध भएर बस्न उनले आग्रह गरे ।
मोर्चाले सरकार एकतर्फी ढंगले जबरजस्ती रुपमा अघि बढ्न खोजे प्रतिकार गर्ने चेतावनी समेत दिएको छ । मोर्चाले जबरजस्ती उठिबासको सूचना तत्काल फिर्ता लिनुपर्ने, राष्ट्रिय भूमि समस्या समाधान आयोगको कार्य प्रक्रिया तत्काल सुरु गरी लगत प्रमाणीकरण र व्यवस्थापनको कार्य अगाडी बढाउनुपर्ने, भूमि र आवासको अधिकारको सुनिश्चित गर्नुपर्ने लगाएतका माग राखेको छ ।



0 comment