काठमाडौं - हिमाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सरकारसमक्ष माग गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई आज मन्त्रालयमा भेट गरी सांसदहरूले हिमाली जिल्लामा मङ्सिरदेखि फागुन महिनासम्म अत्यधिक हिमपात हुने कारण विद्यालय सञ्चालन, विद्यार्थीको नियमित उपस्थिति तथा समग्र शैक्षिक क्यालेन्डरमा प्रत्यक्ष प्रभाव पर्ने गरेकाले शैक्षिकसत्रको समय मौसम अनुकूल व्यवस्थापन गर्न माग गरेका हुन् ।
साथै, सांसदहरूले हिमाली क्षेत्रमा विद्यार्थीको पठनपाठन, शैक्षिक पूर्वाधार र स्रोतसाधन व्यवस्थापनमा व्यावहारिक कठिनाइ भइरहेकाले आवश्यक सहजीकरण गरिदिन शिक्षामन्त्रीसमक्ष अनुरोध गरेका थिए ।
सो अवसरमा शिक्षामन्त्री पोखरेलले हिमाली क्षेत्रका शैक्षिक समस्या समाधानका लागि सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे । उनले हिमाली क्षेत्रमा मौसमका कारण विद्यार्थीको पठनपाठनमा समस्या नहुने गरी शैक्षिक क्यालेन्डर बनाउन पनि आग्रह गरे ।
हिमाली क्षेत्रको समस्या समाधानका उपाय पहिचान गरी व्यावहारिक तथा क्षेत्र अनुकूल शैक्षिक क्यालेन्डर निर्माण गर्न आवश्यक देखिएको हुनाले उक्त विषयमा हिमाली जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूको अनुभव, सुझाव लिन छलफल आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।
छलफलमा हिमाली भेगका विद्यार्थीको पहुँच, शैक्षिक गुणस्तर, पूर्वाधारका चुनौतीका साथै जलवायु परिवर्तनको जोखिम र त्यसले शिक्षा क्षेत्रमा पार्ने प्रभावबारे पनि विचार–विमर्श भएको छ । शिक्षामन्त्रीसँगको छलफलमा हिमाली क्षेत्रबाट निर्वाचित सांसदहरू उपस्थित थिए ।



0 comment