काठमाडौं - सरकारले भदौ २३ र २४ गतेको घटनामा सुरक्षा निकायका पदाधिकारीमाथि अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रको हकमा उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
समितिको सदस्यमा सशस्त्र प्रहरी बलका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई रहेका छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन सरकार प्रमुख, पूर्वगृहमन्त्री, तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अघिकारी, प्रहरी प्रमुखलाई कारबाही गर्न सिफारिससहित प्रतिवेदन बुझाएको थियो । सोहो प्रतिवेदनको आधारमा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ भने सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले छुट्टै समिति गठन गरेको हो ।



0 comment