काठमाडौं - सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कासम्बन्धी अनुसन्धान फाइल सर्वोच्च अदालतले झिकाएको छ।
खड्काको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले बुधबार राजस्व अनुसन्धान विभागलाई बिहीबार दिउँसो १२ बजेसम्म लिखित जवाफसहित अनुसन्धान फाइल पेश गर्न आदेश दिएको हो।
खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रारम्भिक अनुसन्धान गरी प्रतिवेदन आन्तरिक राजस्व विभागमा पठाएको थियो। त्यहाँबाट फाइल पुनः राजस्व अनुसन्धान विभागमा पठाइएपछि हाल सोही विभागमार्फत थप अनुसन्धान भइरहेको छ।
गत सोमबार राजस्व अनुसन्धान विभागले खड्कालाई तीन दिन हिरासतमा राख्न अनुमति लिएको थियो। जिल्ला अदालत ललितपुरले उनलाई थुनामा राख्न अनुमति दिएको थियो।
यसैबीच, सर्वोच्च अदालतले जिल्ला अदालत ललितपुरलाई समेत खड्कालाई थुनामा राख्नुको कारण खुलाउने गरी लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। साथै, म्याद थपसम्बन्धी सबै कागजात र मिसिल पनि बुझाउन आदेश दिइएको छ। उक्त मुद्दाको अर्को सुनुवाइ २०८३ वैशाख ३ गतेका लागि तोकिएको छ।
सर्वोच्चले खड्कालाई हाल राखिएको अवस्थामा नै बिहीबारसम्म यथावत राख्न पनि आदेश दिएको छ।
खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा गत चैत १५ गते पक्राउ गरेको थियो। हाल उनी सीआईबीकै हिरासतमा रहेका छन्।



0 comment