काठमाडौं - सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका सुलभ अग्रवाल र दीपक भट्टसँग सम्बन्धित स्थानहरूमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। विभागले अग्रवाल र भट्टको निवाससहित हिमालय रि–इन्स्युरेन्समा समेत अनुसन्धानका क्रममा छानबिन अघि बढाएको हो।
अग्रवाल शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष हुन् भने भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुखका रूपमा परिचित छन्। उनीहरूविरुद्ध ‘सत्ता–शक्ति’मा रहेका दलका नेता, सार्वजनिक पदाधिकारी तथा कर्मचारीलाई प्रभावमा पारेर ठूला सार्वजनिक खरिदका ठेक्का हात पार्ने, जलविद्युत् आयोजना तथा बैंक/बीमा कम्पनीका लाइसेन्स लिने र वार्षिक बजेटमा करका दर हेरफेर गराउनेजस्ता सन्दिग्ध गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ।
अनुसन्धानका क्रममा चैत १९ गते भट्ट पक्राउ परेका थिए भने अग्रवाल चैत २१ गते पक्राउ परेका हुन्। इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबारको छानबिन गर्दै जाँदा प्रारम्भमा शंकर अग्रवाल पक्राउ परेका थिए। त्यसको तीन दिनपछि सुलभ अग्रवाललाई पनि नियन्त्रणमा लिइएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूसम्बन्धी आर्थिक कारोबार र स्रोतबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।



0 comment