नेकपा एमालेका युवाहरुले पार्टी नेतृत्व पुस्तान्तरणको माग गर्दै वरिष्ठ नेताहरुलाई फूल प्रदान गरेका छन्। शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेका युवाहरुले आकस्मिक रूपमा बोलाइएको सचिवालय बैठकमा सहभागी हुन आएका नेताहरुलाई फूल दिँदै नेतृत्व परिवर्तन गर्न संकेत गरेका हुन्।

युवाहरुले सम्मानजनक तरिकाबाट नेतृत्व हस्तान्तरण हुनुपर्ने धारणा राख्दै पुराना पुस्ताले नयाँ पुस्तालाई अवसर दिनुपर्ने सन्देश दिएका छन्। उनीहरुको यो कदमलाई पार्टीभित्र पुस्तान्तरणको बहसलाई थप चर्काउने संकेतका रूपमा हेरिएको छ। 

सचिवालय बैठक चलिरहेकै बेला गरिएको उक्त प्रतीकात्मक विरोधले एमालेभित्र नेतृत्वको भावी दिशाबारे छलफल तीव्र बन्न सक्ने अनुमान गरिएको छ।