नेकपा (एमाले)को संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।  

प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा उनले छानबिनको माग गर्दै आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि सुनियोजितरूपमा भएको आरोप समेत लगाए ।

थापाले रास्वपा पहिलो दल बन्नुमा नेपाली सेनादेखि बारबरा फाउन्डेसनसम्मलाई दोष लगाएका छन्। उनले भने, ‘यो सबै परिणामका पछाडि मुख्यत: नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार र बारबरा फाउन्डेसन विजयका आधारहरू हुन् ।’

थापाले निर्वाचनबाट ठुलो दलसहित विजय हासिल गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिए।  प्रतिनिधिसभाको निर्वाचनले आफूहरुलाई सानो दलका रुपमा स्थान दिए पनि  चुनौतीको सामना गरेर अघि बढ्ने बताए ।