काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज बिहान आफ्नै निवास गुण्डुबाट पक्राउ गरिएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्काको टोली भक्तपुर प्रहरीका विभिन्न युनिटसहित ओली निवास गुण्डु पुगेर पक्राउ गरिएको हो ।
अध्यक्ष ओलीलाई पक्राउ गर्न प्रहरीले मध्य रातिदेखि नै एसएसपी सन्तोष खड्काको नेतृत्वमा टोली खटाएको थियो ।
टोली पुग्दा ओली सुतिसकेकाले रातभर उनको निवास वरपर प्रहरीले तैनाथ गरेर बसेको थियो र बिहान उठ्नेबित्तिकै नियन्त्रणमा लिइएको हो ।
उनलाई पक्राउ गरी महाराजगन्जस्थित प्रहरी प्रतिष्ठानमा लगिएको र थप कानूनी प्रक्रिया आइतबार पूरा गरिने प्रहरी स्रोतले जनाएको छ ।
ओली आफ्नै गाडीमा प्रहरीसँग गएका छन् ।
प्रहरी आइजीपीको नक्सालस्थित निवासमा गृहमन्त्री सुधन गुरुङसहित मध्यरातसम्म भएको छलफलपछि गृह मन्त्रालयले राति नै ओलीलाई पक्राउ गर्न लिखित आदेश दिएको थियो ।
आदेशानुसार प्रहरी परिचालित भएको बताईएको छ ।
आजै बिहान पुर्व गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिएको छ ।


0 comment