नवलपरासी– नवलपरासीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा भैरहवा र नवलपरासी प्रहरीको संयुक्त टोलीले विभिन्न नाम गरेका चार हजार ३३१ एम्पुल लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा पुगेको टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा विभिन्न नामका दुई हजार ६५० एप्पुल लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बीरदत्त पन्तले परासी पत्र अनलाइनलाई जानकारी दिनुभयो ।
उक्त लागुऔषध नवलपरासी सरावल गाउँपालिका–४ बडसारेका सुनिल कुमार यादव र सोही ठाउँका जितेन्द्र जैसवालले मोटरसाइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा बरामद भएको पन्तले जानकारी दिनुभयो ।
त्यसैगरी उनीहरुकै सूचनाका आधारमा प्रहरी टोलले रामग्राम नगरपालिका–१७ देवगाउँका लक्कीचन्द केवटको घरमा छापा मारेर थप लागुऔषध बरामद गरेको छ । कोठामा लुकाइ राखेको अवस्थामा एक हजार ६८१ एप्पुल लागुऔषध बरामद भएको हो । केवट पनि पक्राउ परेका छन् ।
बरामद भएका लागुऔषध र कारोबारमा संलग्न तीनै जनालाई लागुऔषधसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।


0 comment