नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ।
उनले सामाजिक सञ्जालमार्फत आज बिहान अकल्यान्ड, न्यूजिल्याण्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया गरिएको जानकारी दिएकी हुन्। साथै खाडी क्षेत्रमा हालको असहज अवस्थाका कारण कतार पुग्न समस्या भएपछि विशेषज्ञको सल्लाहमा न्यूजिल्याण्डमै शल्यक्रिया गरिएको उनले स्पष्ट पारेकी छिन् ।
लामो प्रतीक्षापछि गरिएको उक्त शल्यक्रिया सफल भएको बताउँदै साम्बाले अब पुरस्थापनाको प्रक्रिया सुरु हुने बताउँदै भोलिदेखि चिकित्सकको निगरानीमा रिह्याब सुरु गर्ने र अवस्था सामान्य भएपछि एस्पेटारमा थप पुनर्स्थापनाको योजना रहेको उल्लेख गरिन्।
कठिन समयमा साथ र सहयोग गर्ने वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदायप्रति उनले आभार व्यक्त गरेकी छन्। साथै आफ्नो क्लब वेलिंगटन फिनिक्स र व्यवस्थापन टिमले शल्यक्रियाको व्यवस्था मिलाउन गरेको सहयोगप्रति पनि धन्यवाद दिइन्।
समर्थकको माया र साथले ऊर्जा दिएको बताउँदै साम्बाले अब आफ्नो सम्पूर्ण ध्यान पुनरागमनतर्फ केन्द्रित गर्ने सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।


0 comment