काठमाडौं - बर्दियामा लागु औषध कारोबारविरुद्ध प्रदर्शन गर्दै स्थानीयले अवरुद्ध पारेको नेपालगन्ज–गुलरिया सडक खण्ड खुलाउन पुगेको प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।
झडपमा केही स्थानीय र १० जना सुरक्षाकर्मी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको हो ।
झडपमा नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीका तीन जना गरी १० जना घाइते भएका छन् । घाइतेमध्ये प्रहरी सहायक हवलदार सन्तोष विकको अवस्था गम्भीर छ । उनको जिल्ला अस्पताल बर्दियामा उपचार भइरहेको छ । लागु औषधको 'ओभरडोज' का कारण स्थानीय दुई युवकको मृत्यु भएपछि आक्रोशित स्थानीयले सीमा नाका बन्द गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध गरेका थिए ।


0 comment