काठमाडौँ, ६ चैत । गृहमन्त्री ओमप्रकाश अर्यालसहित विभिन्न मन्त्रीहरुले सिंहदरबार परिसरमा निर्माणधीन संघीय संसद भवनको स्थलगत निरीक्षण गर्नुभएको छ । गृहमन्त्री अर्यालसहित परराष्ट्रमन्त्री बालानन्द शर्मा, स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा गौतम र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले संसद भवनका विभिन्न संरचना अवलोकन गरी जानकारी लिनुभएको हो । उहाँहरुले संसद बैठक बस्नका लागि तयार गरिएको नयाँ ‘मल्टिपर्पोज हल’, निर्माणधीन प्रतिनिधसभा र राष्ट्रियसभा हलको अवलोकन गर्नुभएको थियो ।
अनुगमनका क्रममा गृहमन्त्री अर्यालले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको सपथका लागि बैठक कक्षको सबै तयारी अवस्थामा रहेको जानकारी दिदैँ आवश्यक परेको खण्डमा प्रतिनिधिसभाको बैठक पनि बस्नसकिनेगरी व्यवस्थापन गरिएको निर्माएण पक्षले जानकारी गराएको बताउनुभयो । उहाँले भन्नुभयो,“नयाँ भवनमा शपथ ग्रहणका लागि मात्र नभई पूर्ण अधिवेशन नै सञ्चालन गर्नुपरेमा पनि त्यसका लागि सबै तयारी अवस्थामा रहेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकका लागि समेत आवश्यक पूर्वाधार तयार पारिएको छ । सभामुखको कार्यकक्ष र कार्यव्यवस्था परामर्श समितिको लागि पनि ठाउँ बनिसकेको छ ।
भवनभित्रको सिट योजना (सिट प्लानिङ) र फर्निचर व्यवस्थापन सन्तोषजनक रहेको उल्लेख गर्दै उहाँले माइक तथा स्क्रिन जडानको काम समेत द्रुत गतिमा भइरहेको जानकारी दिनुभयो । अस्थायी व्यवस्थापन भए तापनि फर्निचर र प्रविधिको प्रयोग गुणस्तरीय रहेको र कामले गति लिएको उहाँको भनाइ थियो ।
नयाँ संसद भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । करिब १५६ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संसद भवन तयार भएपछि संघीय संसदका सम्पूर्ण गतिविधि यही नयाँ संरचनाबाट सञ्चालन हुनेछन् । भवन निर्माण गरिरहेको टुण्डी–सेक जेभी परियोजनाका प्रमुख प्रमेन्द्रकृष्ण श्रेष्ठका अनुसार संघीय संसद भवन, प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् । 
सिंहदरबार परिसरमा निर्माणधीन संघीय संसद भवन परिसरमा मन्त्रीहरुले वृक्षारोपण गर्नुभएको छ । गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाई, परराष्ट्रमन्त्री बालानन्द शर्मा, स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा गौतम र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले वृक्षा रोपण गर्नुभएको हो । रुद्राक्ष, कपुर, धुँपी र समिका विरुवाहरु रोपिएको हो ।