काठमाडौं - इंग्ल्यान्डविरुद्ध विश्वकप जितेपछि अर्जेन्टिनाली फुटबल टोलीले आफ्नो देशको फकल्यान्ड टापुमाथिको दाबी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेको घटनापछि ह्वाइट हाउसले खेलाडीहरूको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको बचाउ गरेको छ।
उक्त घटनाका कारण अर्जेन्टिनाले फिफाको अनुशासनात्मक कारबाही सामना गर्नुपर्ने सम्भावना छ, किनकि खेलकुद प्रतियोगितामा राजनीतिक सन्देश प्रदर्शन गर्ने विषय फिफाका नियमविपरीत हुन सक्ने मानिन्छ।
खेलाडीहरूले यस्तो सन्देश प्रदर्शन गर्नु गलत थियो कि थिएन भन्ने प्रश्नमा ह्वाइट हाउस फिफा टास्क फोर्सका प्रमुख एन्ड्र्यु जुलियानीले शुक्रबार भने कि अमेरिकामा टोलीसँग यस्ता धारणा व्यक्त गर्ने अवसर र अधिकार रहेको बताए।
उनको यो भनाइले घटनासम्बन्धी विवाद थप चर्किन सक्ने देखिएको छ। यसअघि बेलायतको प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले पनि फिफालाई घटनाको छानबिन गर्न आग्रह गर्ने पक्षमा समर्थन जनाएको थियो।
दक्षिण–पश्चिम एटलान्टिक महासागरमा रहेको फकल्यान्ड टापु बेलायतको अधीनस्थ क्षेत्र हो। तर यसमाथि बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि सार्वभौमिकताको विवाद रहँदै आएको छ।
बुधबार भएको सेमिफाइनल खेलपछि अर्जेन्टिनाका खेलाडीहरूले एउटा ब्यानर प्रदर्शन गरेका थिए जसमा “Las Malvinas son Argentinas” लेखिएको थियो। यसको अर्थ “फकल्यान्ड अर्जेन्टिनाको हो” भन्ने हुन्छ।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै जुलियानीले अमेरिकी संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लेख गरे। उनले भने, “संयुक्त राज्य अमेरिकामा हामी यहाँको संविधानको पहिलो संशोधनले दिएको अधिकारमा विश्वास गर्छौँ।”
फकल्यान्ड विवादमा बेलायतको आपत्ति, फिफासँग छानबिनको माग
बेलायतको प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले अर्जेन्टिनाली खेलाडीहरूले फकल्यान्ड टापुसम्बन्धी ब्यानर प्रदर्शन गरेको घटनामा फिफाले छानबिन गर्नुपर्ने मागलाई समर्थन गरेको छ।
बेलायती प्रधानमन्त्रीका आधिकारिक प्रवक्ताले भने “विश्वकप हाम्रो नहुन सक्छ तर फकल्यान्ड टापु निश्चित रूपमा हाम्रो हो। फकल्यान्डप्रतिको हाम्रो प्रतिबद्धता कहिल्यै कमजोर हुने छैन।”
बेलायत सरकारको कार्यालय नम्बर १० ले अर्जेन्टिनाका खेलाडीमाथि हुन सक्ने सम्भावित कारबाही फिफाको अधिकार क्षेत्रभित्र पर्ने बताएको छ। तर व्यापारमन्त्री पिटर काइलले जस्तै विश्व फुटबलको नियामक निकाय फिफाले यस विषयमा छानबिन गर्नुपर्ने धारणा दोहोर्याएको छ।
फकल्यान्ड टापु सरकारले पनि उक्त ब्यानरप्रति प्रतिक्रिया दिँदै आफूहरू निराश भए पनि अचम्मित नभएको जनाएको छ। उसले फिफाले आफ्नै नियमअनुसार यस्ता गतिविधिमाथि कारबाही गर्ने आशा व्यक्त गरेको छ।
सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ “हामी खेलकुदमा राजनीति मिसाइएको हेर्न चाहँदैनौँ। त्यसैगरी इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने हरेक छलफलमा टापु र त्यहाँका मानिसहरूलाई राजनीतिक खेलको विषय बनाइएको पनि हेर्न चाहँदैनौँ।”
सन् २०१३ मा फकल्यान्ड टापुका बासिन्दाहरूले बेलायतको अधीनस्थ क्षेत्रकै रूपमा रहि रहने पक्षमा भारी मत दिएका थिए।
दुई दिनसम्म चलेको उक्त जनमत संग्रहमा ९० प्रतिशतभन्दा बढी मतदाता सहभागी भएका थिए। कुल १,५१७ मतमध्ये १,५१३ मत बेलायतसँगै रहने पक्षमा परेको थियो भने केवल तीन मत विपक्षमा परेको थियो।
यता बुधबारको जितपछि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिल्लारुएलले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै यो केवल अर्को खेल मात्र थिएन भनी लेखेकी थिइन्। उनले त्यससँगै अर्जेन्टिनाका सैनिकहरू देखिने एउटा भिडियो पनि पोस्ट गरेकी थिइन्।
फकल्यान्ड विवादमा अर्जेन्टिनाको अडान, १९८२ को युद्धको सम्झना
अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिल्लारुएलले सामाजिक सञ्जालमा लेखेकी छन् “फकल्यान्ड अर्जेन्टिनाको हो। उनीहरूले हामीलाई ती कुरा स्टेडियममा ल्याउन रोक लगाए, तर हामीले तिनलाई आफ्नो रगत र हृदयमा बोकेका छौँ भन्ने कुरा बिर्सिए।”
यसअघि अन्तिम १६ को खेलमा इजिप्टलाई ३–२ ले पराजित गरेपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्यान्ड र अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोना तथा लियोनेल मेसीलाई उल्लेख गर्ने नारासमेत लगाएका थिए।
फकल्यान्ड टापुको स्वामित्वलाई लिएर सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच छोटो तर भीषण युद्ध भएको थियो।
अर्जेन्टिनाले आफ्नो क्षेत्रीय दाबी गर्दै फकल्यान्ड टापुमा सेना पठाएपछि बेलायतले सैन्य अभियान सञ्चालन गरी अर्जेन्टिनाली सेनालाई त्यहाँबाट हटाएको थियो।
७४ दिनसम्म चलेको उक्त युद्धमा २५५ जना बेलायती सैनिक, तीन जना फकल्यान्डका बासिन्दा र ६४९ जना अर्जेन्टिनाली सैनिकको मृत्यु भएको थियो।


0 comment