काठमाडौं - करिब एक दशकको प्रतीक्षापछि निर्माण सम्पन्न भएको नागढुङ्गा सुरुङमार्ग आगामी साउन ११ गते औपचारिक रूपमा उद्घाटन हुने भएको छ। उद्घाटनसँगै सुरुङमार्ग सञ्चालनमा आउने भए पनि सर्वसाधारणका सबै सवारीसाधनले भने तत्काल प्रयोग गर्न पाउने छैनन्।

नागढुङ्गा सुरुङमार्ग आयोजनाले सुरुङमार्गको सम्पूर्ण निर्माण सम्पन्न भइसकेको जनाएको छ। उद्घाटनको मिति तय भइसकेको र कार्यक्रमको अन्तिम तयारी भइरहेको छ। उद्घाटन कसले गर्ने भन्ने विषयमा भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल भइरहेको छ।

सुरुङमार्गको उद्घाटनपछि करिब तीन महिनासम्म सुरुङमार्ग परीक्षण अवधिका रूपमा सञ्चालन गरिनेछ। यस अवधिमा सुरुवाती चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारीसाधनलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। परीक्षण सफल भएपछि क्रमशः अन्य सार्वजनिक तथा निजी सवारीका लागि पनि मार्ग खुला गरिनेछ।

सर्भिस सेन्टरको योजना रोकियो

सुरुङमार्गसँगै निर्माण गर्ने भनिएको विश्रामस्थल, पार्किङ, स्थानीय उत्पादन बिक्री केन्द्र तथा अन्य सुविधा समेटिएको ‘सर्भिस सेन्टर’ भने तत्काल नबन्ने भएको छ।

धादिङतर्फको पश्चिम पोर्टल नजिक करिब ४० रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको सेवा केन्द्र निर्माण गर्ने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र डिजाइन तयार भए पनि जग्गा विवादका कारण योजना स्थगित गरिएको आयोजनाले जनाएको छ।

आवश्यक जग्गामा सडक विभाग, निजी व्यक्ति र गुठीको दोहोरो स्वामित्व देखिएकाले कानुनी जटिलता उत्पन्न भएको हो। सरकारी अभिलेखमा रहेको जग्गा निजी नाममा कसरी दर्ता भयो भन्ने विषय स्पष्ट नभएसम्म मुआब्जा वितरण र निर्माण प्रक्रिया अघि बढाउन नसकिने आयोजनको भनाई छ।

यात्रु सुविधामा असर

सर्भिस सेन्टर नबन्दा यात्रुले विश्रामस्थल, शौचालय, पार्किङ तथा सवारीसाधनको सामान्य मर्मत सेवा तत्काल पाउने छैनन्। आकस्मिक उद्धार, ट्राफिक व्यवस्थापन तथा स्थानीय व्यापार प्रवर्द्धनमा समेत यसको प्रभाव पर्ने देखिएको छ।

पुरानो जग्गा विवाद अझै टुंगोमा पुगेन

आयोजनाका अनुसार विवादित जग्गा २०५१ सालसम्म सडक विभागको नाममा रहेको अभिलेख भेटिएको छ। तर २०५२ सालपछि सोही जग्गा निजी व्यक्ति र गुठीको नाममा दर्ता भएको देखिन्छ।त्रिभुवन राजपथको पुरानो एलाइनमेन्ट परिवर्तन भएपछि बाँकी रहेको जग्गा पछि निजी नाममा गएको हो। अहिले पनि उक्त विवादित जग्गाको केही भागमा राजमार्ग नै रहेको छ ।

यात्रा सहज हुने अपेक्षा

सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नौबिसे सडकखण्डको ट्राफिक जाम कम हुने, यात्रा समय घट्ने र आवागमन सहज हुने अपेक्षा गरिएको छ। तर सुरुङमार्गसँगै निर्माण गर्ने भनिएको सेवा केन्द्र भने जग्गा विवाद समाधान नभएसम्म अनिश्चित बनेको छ।