अमेरिकाको एक F-35 फाईटर जेटले इरानमथि युद्ध मिशन सम्पन्न गरेपछि मध्यपूर्वस्थित एक अमेरिकी हवाई अड्डामा आकस्मिक अवतरण गरेको अमेरिकी सैन्य अधिकारीहरूले बताएका छन्।

विमान बिहीबार सुरक्षित रूपमा अवतरण भएको र पाइलटको अवस्था स्थिर रहेको टिम हाउकिन्सले जानकारी दिएका छन्।

उनले भने, “हामीलाई जानकारी छ कि एक अमेरिकी F-35 विमानले इरानमाथि युद्ध मिशन पूरा गरेपछि क्षेत्रीय अमेरिकी हवाई अड्डामा आकस्मिक अवतरण गरेको छ। विमान सुरक्षित अवतरण भएको छ र पाइलटको अवस्था स्थिर छ। यो घटनाको अनुसन्धान भइरहेको छ।”

दुई अज्ञात स्रोतलाई उद्धृत गर्दै उक्त करिब १०० मिलियन डलर मूल्यको विमान इरानको आक्रमणबाट प्रभावित भएको हुन सक्ने जनाएको छ।

अर्कोतर्फ इस्लामिक रिभोलुस्नरी गार्ड क्रप्सले एक विज्ञप्ति जारी गर्दै आफूहरूले अमेरिकी विमानलाई निशाना बनाएको दाबी गरेको छ। तर अमेरिकी पक्षले F-35 ले किन आकस्मिक अवतरण गर्नुपर्‍यो भन्ने पुष्टि गरेको छैन।

फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वयता अमेरिकाले करिब १२ वटा MQ-9  रिपर ड्रोन  गुमाएको रिपोर्ट गरिएको छ।

त्यसैगरी, अमेरिकी अधिकारीहरूका अनुसार साउदी अरेबियामा रहेको एक हवाई अड्डामा इरानी मिसाइल आक्रमण हुँदा पाँच वटा KC-135 रिफ्युलिङ एयरक्राफ्ट  क्षतिग्रस्त भएका छन्, यद्यपि यसबारे स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

F-35 जस्ता स्टेल्थ लडाकु विमानहरू २०१८ देखि युद्धमा प्रयोग हुँदै आए पनि शत्रु आक्रमणबाट प्रत्यक्ष रूपमा क्षति पुगेको पुष्टि भएको यो पहिलो घटना हुनसक्ने बताइएको छ।

मार्च १ मा भने F-15E स्ट्राइक इगलका तीन वटा अमेरिकी विमानहरू कुवेतको F/A-18 सँग भएको ‘फ्रेन्डली फायर’ घटनामा खसालिएका थिए। सबै ६ जना चालकदल सदस्य सुरक्षित रूपमा बाहिर निस्केर उद्धार गरिएको थियो।