सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी थालेको छ। लामो समयदेखि वैज्ञानिक भाडादर समायोजन कार्यविधिअनुसार भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायीले दबाब दिएपछि विभाग गृहकार्यमा जुटेको हो।
पश्चिम एसियामा युद्धका कारण पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै नेपाल आयल निगमले डिजेलमा प्रतिलिटर १० रुपैयाँ बढाएर १५२ रुपैयाँ पुर्याएको छ। यसपछि यातायात व्यवसायीले भाडा समायोजनको माग गर्दै विज्ञप्ति जारी गरेका छन्।
वैज्ञानिक भाडादर कार्यविधिअनुसार इन्धनमा ५ प्रतिशत मूल्य उतार–चढाव हुँदा स्वचालित रूपमा भाडा समायोजन हुने व्यवस्था भए पनि पछिल्लो १५ महिनादेखि लागू भएको छैन। अन्तिम पटक २०८१ पुस २२ गते भाडा समायोजन गरिएको थियो।
सरकारले केही दिनभित्रै नयाँ भाडा दर लागू गर्ने तयारी गरेको यातायात व्यवस्था विभागले जनाएको छ।


0 comment