विराटनगर। विराटनगर-३ स्थित सिटिजन्स बैंक इन्टरनेसनलको कञ्चनबारी शाखामा नक्कली ऋणी खडा गरी झन्डै पाँच करोड रुपैयाँ हिनामिना भएको खुलेको छ।

बैंकका कर्मचारीकै मिलेमतोमा १३ जना नक्कली ऋणीका नाममा चार करोड ९१ लाख ५२ हजार १३ रुपैयाँ ६५ पैसा घोटाला भएको हो। बैंकले दुई महिनाअगाडि गरेको आन्तरिक लेखापरीक्षण (अडिट)का क्रममा कर्मचारीहरूले निक्षेपकर्ताले मुद्दती निक्षेप (फिक्स डिपोजिट)मा राखेको रकमलाई धितोका रूपमा प्रयोग गरी नक्कली कर्जा फाइल खडा गरेर रकम निकालेको देखिएको छ।

यस प्रकरणमा बैंकले शाखाकी तत्कालीन अपरेसन इन्चार्ज विराटनगर-१० घर भएकी ३५ वर्षीया रोजी कँडेलविरुद्ध २८ फागुनमा जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो।

आन्तरिक लेखापरीक्षण प्रतिवेदनअनुसार कर्मचारीहरूले सर्वसाधारणको मुद्दती निक्षेपलाई धितोमा परिणत गरी किर्ते कर्जाको फाइल तयार पार्ने गरेका थिए। प्रतिवेदनमा जनाइएअनुसार २० लाखदेखि एक करोड २५ लाख रुपैयाँसम्मका दरले १३ वटा नक्कली ऋण खडा गरिएको थियो। यसरी रकम निकाल्न बैंकका कर्मचारीहरू कञ्चनबारी शाखाका तत्कालीन प्रबन्धक अभिषेक अग्रवाल (आईडी ४७२), सहायक शाखा प्रबन्धक जोसेफ आचार्य (१९३२), रोजी कँडेल (२२७४) र सोनिका राउत (२८७) को युजर आईडी प्रयोग भएको देखिएको छ।

बैंकले कँडेललाई बर्खास्त गरिसकेको छ भने शाखा प्रबन्धक अग्रवाल, सहायक प्रबन्धक आचार्यसहित सोनिका राउत, विकास श्रेष्ठ, एलिना श्रेष्ठ र उद्धव अधिकारीलाई निलम्बन गरेको छ। यस प्रकरणमा प्रदेश र केन्द्रीय कार्यालयका कर्मचारीहरूको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ।

२९ फागुनमा मुख्य आरोपित कँडेलविरुद्ध मात्र ‘बैंकिङ कसुर’ मुद्दामा उजुरी दर्ता भएको छ। मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले बैंकको प्रतिवेदन प्राप्त भएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिन्छन्।

“हामीले बैंकको आन्तरिक प्रतिवेदनका आधारमा अनुसन्धान सुरु गरेका छौँ,” एसपी कटुवाल भन्छन्, “अहिले अनुसन्धान जारी छ।” बैंकले २५० पेजको छानबिन प्रतिवेदन प्रहरीलाई बुझाएको छ। बैंकले दिएको उजुरीका आधारमा मंगलबार साँझ कँडेलविरुद्ध उच्च अदालत विराटनगरले मोरङ प्रहरीलाई पक्राउ अनुमति दिएको छ। एसपी कटुवाल भन्छन्, “अदालतबाट पक्राउको अनुमति पाएका छौँ। यस घटनामा प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान सुरु गरिसकेको छ।”

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश पोखरेलका अनुसार दुई महिनाअघि नै केन्द्रबाट चार्टर्ड एकाउन्टेन्टसहितको टोली पठाएर छानबिन गरिएको थियो। “हिनामिनामा संलग्न कँडेलले १५ दिनभित्र रकम तिर्ने कागज गरेकी थिइन्। त्यसपछि उनलाई निलम्बन गरी कानुनी कारबाहीका लागि प्रहरीमा सिफारिस गरिएको हो,” सीईओ पोखरेल भन्छन्। अन्य कर्मचारीको हकमा भने हिनामिनाको जानकारी भएर पनि किन रिपोर्ट नगरेको भन्नेबारे सोधपुछ भइरहेको उनी बताउँछन्।

यता, आरोपित रोजी कँडेलको परिवारले भने बैंकले एकलौटी रूपमा आरोप लगाएको दाबी गरेको छ। रोजीका बुबा राजन कँडेलका अनुसार बैंकले आन्तरिक रूपमै मिलाउने आश्वासन दिएपछि रोजीका ससुरा खगेन्द्रप्रसाद रिजालको नाममा रहेको रंगेली नगरपालिकाका विभिन्न कित्ताका जग्गा बैंकका नाममा दृष्टिबन्धक राखिएको थियो। उक्त जग्गाको मूल्यांकन करिब ६ करोड छ। १८ माघ र २६ फागुनमा ती जग्गा रोक्का राखिए पनि बैंकले सम्झौताविपरीत २८ फागुनमा रोजीलाई सेवाबाट हटाएर प्रहरीमा उजुरी दिएको परिवारको आरोप छ।


बैंककी तत्कालीन अपरेसन इन्चार्ज रोजी कँडेलको परिवारले बैंकको नाममा लिखत पास गरिदिएको कागजपत्र।

प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि कँडेल परिवारले उच्च अदालतमा निषेधाज्ञाको मुद्दासमेत दायर गरेको थियो। कँडेलले दर्ता गरेको रिट निवेदनमा उच्च अदालत विराटनगरले बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। उच्च अदालत विराटनगरका न्यायाधीशद्वय प्रकाश खरेल र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजासलले कँडेलको पक्षमा अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो। योसँगै मोरङ प्रहरीलाई कँडेललाई पक्राउ गरी अनुसन्धान गर्ने बाटो खुलेको छ।

कँडेलले जिल्ला प्रहरी कार्यालय मोरङ, सिटिजन्स बैंकका सीईओ गणेश पोखरेल, तत्कालीन कोसी प्रदेश प्रमुख दिवससिंह ठकुरी र शाखा प्रबन्धक अभिषेक अग्रवाललाई विपक्षी बनाएर रिट निवेदन मंगलबार दर्ता गरेकी थिइन्।