काठमाडौं —नवनिर्वाचित सांसदहरुको शपथ चैत १२ मा गराउने तयारी भएको जनाइएको छ । 

समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई यही बिहीबार निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिने बताएको छ । यसको जानकारी आयोगले संघीय संसद् सचिवालयलाई पनि गराउने बताएको छ । 

निर्वाचन आयोगबाट जानकारी प्राप्त भएसँगै शपथका लागि मिति सार्वजनिक गर्ने तयारीमा रहेको संघीय संसद् सचिवालयका सहसचिव एकराम गिरीले विशाल नेपाललाई जानकारी दिएका छन  । उनका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल समेत गर्ने भनिएको छ । 

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलको रुपमा छन भने १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दलको रुपमा छ भने कांग्रेस ३८ सिट  एमाले ३५ सिट र नेपाली कम्युनिस्ट पार्टी १७ सिट ल्याएर तेस्रो दलको रुपमा रहेको छ । 

यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौं दलको रुपमा रहेको छ भने राप्रपा ५ सिटसहित छैठौं दलको रुपमा छ । एक जना स्वतन्त्र उम्मेदवार पनि छन् । यो संसदमा विभिन्न क्षेत्रका व्यक्तीत्वहरु जस्तै खेलाडी, कलाकार, अभियन्ता लगायत विभिन्न पेशामा आवद्ध डाक्टर ईन्जीनियरहरुको पनि राम्रै उपस्थिती रहेको छ भने जेनजी आन्दोलनमा ज्यान गुमाउने सहिद परिवार पनि संसदमा देख्न पाइनेछ ।