काठमाडौं - पर्सियन गल्फमा इराक नजिक दुई वटा विदेशी तेल ट्यांकरमा विस्फोट भएको छ। 

अधिकारीहरूका अनुसार उक्त घटनामा कम्तीमा एक जनाको मृत्यु भएको छ।

साउदी अरेवियाले आफूले १८ वटा ड्रोनमा अवरोध गरेको जनाएको छ । दुबईका अधिकारीहरूले एउटा ड्रोन अपार्टमेन्ट भवनमा खसे पनि कोही घाइते नभएको बताएका छन्।

इजरायलको सेनाले लेबनानमा हिज्बरल्लाहलाई लक्षित गर्दै  पुनः अर्को चरणको हवाई आक्रमण गरेको जनाएको छ। यसलाई इजरायलतर्फ प्रहार गरिएका रकेटहरूको जवाफ भएको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धबारे सोध्दा अमेरिकाले अझै समाप्त भएको छैन भनेका छन् ।

युद्धका आर्थिक असरहरू जारी छन्  जसका कारण ब्रेन्ट क्रुड आयलको मूल्य फेरि बढेर प्रति ब्यारेल १०० डलरसम्म पुगेको छ।

यसअघि अन्तर्राष्ट्रिय उर्जा एजेन्सीका ३२ सदस्य राष्ट्रहरूले बजार स्थिर पार्ने प्रयास स्वरूप आफ्नो इतिहासकै सबैभन्दा ठूलो तेल भण्डार सार्वजनिक रूपमा निकाल्ने निर्णय गरेका थिए।

अन्तर्राष्ट्रिय उर्जा एजेन्सीमा  बेलायत र अमेरिका समेत सदस्य छन् र यस संस्थाले ४० करोड ब्यारेल तेल भण्डार बजारमा ल्याउने बताइएको छ।  यो करिब चार दिनको विश्व तेल आपूर्ति बराबर हो।