– विनोद पण्डित

काठमाण्डौं – श्रीमद्द भागबत गीता १८ पर्व भित्र एक लाख श्लोकहरू भएको महाभारतको महत्वपूर्ण अंश हो । धर्म (Ethics) र कर्मलाई सुक्ष्मरुपमा व्याख्या गरिएको गीता भिष्म पर्व अन्तर्गत पर्दछ। यस्मा १८ अध्याय र ७०० श्लोकहरू छन्। श्रीमद्दभागबत गीतामा रण मैदानमा योद्धा र सारथी बीचको प्रश्नोत्तर घतलाग्दो रुपमा प्रस्तुत गरिएको छ। सारथी कै कारण योद्धाले महाभारतको युद्ध जितेको बर्णन छ। अर्जुन योद्धा थिए भने श्रीकृष्ण सारथी। रुपमा अर्जुनले युद्ध जितेको देखिए पनि सारमा श्रीकृष्णलाई नै विजेता मानिन्छ।धर्म स्थापनाको लागि श्रीकृष्णको भूमिकालाई अत्यन्त सकारात्मक रुपमा वर्णन गरिएको छ ।श्रीकृष्णलाई नायक मानिएको छ।

श्रीमद्दभागबत गीतामा श्रीकृष्णको खलनायक भूमिकाको पनि  चर्चा गर्नैपर्छ। आफ्ना गुरु, अग्रज तथा सन्तानलाई समुल नष्ट गर्नुपर्ने युद्ध नलडने उद्घोष गरेका अर्जुन श्रीकृष्ण कै कारण युद्धमा होमिएका थिए। सारथी श्रीकृष्णले मन, चित्त, बुद्धि, अहंकारको वर्णन गरेर धर्म, अर्थ, काम, मोक्ष सम्झाएर,  सत्व, रज तम गुणको ब्याख्या गरेर, कर्म र फल बिच भेद अर्थ्याएर, आत्मा र परमात्माको कल्पनामा सयर गरायर, जन्म र मृत्युको भेद देखाएर, प्रकृति र पुरुष छुट्याएर लड्न बाध्य बनाए। अर्जुनले युद्ध लडे। फलतः कुरूवंशीको बिनास भो, कुरुक्षेत्रको सर्वनाश भो। महाभारत युद्धको दुखद अन्त्य भो। यो सर्बनासको कारक श्रीकृष्ण हुन्। श्रीकृष्णको यो कृत्य खलनायकि भूमिका हो।

आसनमा चुनावी रण मैदानमा अनेकन अर्जुन-उमेद्ववारहरु तैनाथ छन। उनीहरु एक्ला छैनन् सारथी सहित कार्यकर्ता-सेनाले सुसज्जित छन्। सारथीहरू चुनावी परिणामको कारक हुनसक्छन्। सारथीको भूमिका महत्वपूर्ण हुन्छ। यिनले लक्ष्य, उद्देश्य तथा योजना बनाउने, दिशानिर्देश गर्ने, उम्मेदवारको मनोबल उच्च राख्ने र आवश्यक तयारी गर्ने जस्ता काममा दत्तचित्त हुनुपर्दछ। सारथीले आफ्नो भूमिका आफैंले खुट्याउनु पर्दछ। श्रीकृष्णको झैँ नायकको भूमिका मात्र निर्वाह गर्न सक्नुपर्दछ। 

यदि सारथीको नकारात्मक सोच, चिन्तन र प्रवृत्ति मौलायो भने त्यसले जन-विनासको बाटो पहिल्याउन बेर लाग्दैन। पार्टी र देश दुबै तिर बिनाश निम्तिन सक्तछ।

यसर्थ, सबै पार्टीका उम्मेदवारका सारथीहरु सकारात्मक र नायकी भूमिकामा प्रकट हुनुहोला। उमेदवार निमित्तनायक हुँदा पनि फरक नपर्ला। जस-अपजसको चिन्ता विना कर्ममा डट्नुहोला। 

फल फलित हुनेछ। क्षेत्रको क्षेत्रज्ञ बन्ने अवसर छ।

जसले हारे पनि देशले जित्ने अवसर सृजना गर्नुहोला।

शुभकामना!