काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही सुरु गरिएको घोषणा गरेका छन्। उनले त्यहाँका नागरिकलाई 'दमनकारी नेतृत्वबाट मुक्त हुन' आह्वान गरेका छन्। 

शनिबार बिहानै सामाजिक सञ्जाल ट्रथ सोसलमा पोस्ट गरिएको आठ मिनेटको भिडियोमा ट्रम्पले भनेका छन्, 'अमेरिकाको सेनाले अत्यन्त दुष्ट र कट्टर तानाशाहीले अमेरिका र हाम्रो मूल राष्ट्रिय सुरक्षा हितमाथि धम्की दिन नपाओस् भनेर कारबाही अभियान सञ्चालन गरिरहेको छ।' उनले यस अभियानमा अमेरिकी ज्यानसमेत गुम्नसक्ने सम्भावनालाई स्पष्ट रूपमा स्वीकार गरेका छन्।

ट्रम्पको घोषणापछि गम्भीर परिणामहरूको आउनसक्ने संकेत दिएको विश्लेषकहरुको भनाइ छ। हवाई आक्रमणमार्फत इरानको शासन परिवर्तन सम्भव हुने उनको अपेक्षा रहेको विश्लेषकहरुको भनाइ छ ।

सीएनएनका अनुसार अमेरिकी सेना केही दिनसम्म आक्रमण जारी राख्ने तयारीमा छ। इरानले पनि मध्यपूर्वका विभिन्न स्थानमा प्रतिकार सुरु गरिसकेको छ। एक अमेरिकी अधिकारीका अनुसार इरानले बहराइनमा रहेको अमेरिकी नौसेना आधारलाई निशाना बनाएको छ, जहाँ अमेरिकी पाँचौं बेडा तैनाथ छ।