काठमाडौं - इजरायल र अमेरिकाले संयुक्त रुपमा हमला गरेसँगै इरानले पनि जवाफी फायर खोलेको छ। शनिबार दिउँसो जवाफी हमलामा इरानले इजरायल, यूएई, कुवेत, बहराइन र कतार लगायतका मुलुकका अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको हो ।

इजरायलले इरानमाथि आक्रमण सुरू गरेपछि खाडी मुलुकहरूले हवाई क्षेत्र बन्द गरेका छन् । क्षेत्रीय तनाव चुलिएका बेला कतार, कुवेत र यूएईले आफ्नो हवाई क्षेत्र बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।

मध्यपूर्वमा लामो समयदेखि बढ्दै आएको तनाव आज खुला सैन्य द्वन्द्वमा रूपान्तरित भएको छ । अमेरिका-इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेको घोषणा गरेसँगै दुवै देशबीच प्रत्यक्ष भिडन्त सुरु भएको हो ।

इजरायली सुरक्षासम्बन्धी निकायका अनुसार आज बिहानैदेखि देशका विभिन्न सहरमा हवाई आक्रमणको चेतावनीस्वरूप साइरन बजाइएको छ । राजधानी क्षेत्र, तटीय सहरहरू तथा दक्षिणी भागमा लगातार साईरन बजेपछि सर्वसाधारणलाई तत्काल सुरक्षित स्थान र बँकरमा जान निर्देशन दिइएको थियो ।

नागरिक बंकरमा, विद्यालय र कार्यालय सबै बन्द

सरकारले आकस्मिक सुरक्षा निर्देश जारी गर्दै विद्यालय, कलेज, सार्वजनिक कार्यक्रम तथा धेरै कार्यालयहरू अस्थायी रूपमा बन्द गरेको जनाएको छ । अधिकांश आवासीय भवनमा रहेको सुरक्षित कोठा तथा सामुदायिक बंकरहरूमा नागरिकहरू आश्रय लिइरहेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार कतिपय स्थानमा विष्फोटको आवाज सुनिएको र आकाशमा प्रतिरक्षा प्रणाली सक्रिय देखिएको छ । इजरायलको हवाई प्रतिरक्षा प्रणालीले सम्भावित मिसाइल आक्रमण अवरोध गर्ने प्रयास गरिरहेको सुरक्षा स्रोतहरूले बताएका छन् ।

इरानमा पूर्ण इन्टरनेट ब्ल्याकआउट

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेसँगै इरान अहिले लगभग पूर्ण इन्टरनेट ब्ल्याकआउट भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरान अहिले लगभग पूर्ण इन्टरनेट ब्ल्याकआउट भएको हो।

तर इरान इन्टरनेट बन्द भएको यो पहिलो पटक होइन। गत महिना मात्र, देशभरि भएका राष्ट्रव्यापी विरोध प्रदर्शनहरूको क्रममा देश लगभग पूर्ण इन्टरनेट ब्ल्याकआउट भएको थियो।