काठमाडौं - काठमाडौँ इन्जिनियरिङ कलेज (केईसी), कालिमाटीले जेन्जी आन्दोलनका सहिद तथा कलेजका पूर्व विद्यार्थी इन्जिनियर सुलभ श्रेष्ठको स्मृतिमा ‘सहिद सुलभ श्रेष्ठ छात्रवृत्ति’ स्थापना गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूमध्ये प्रत्येक वर्ष एक जनालाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यसहित उक्त छात्रवृत्ति स्थापना गरिएको हो ।

कलेजका सहायक प्रिन्सिपल अर्जुन पौडेलले सरस्वती पूजा तथा उत्कृष्ट विद्यार्थी पुरस्कार वितरण कार्यक्रममा छात्रवृत्तिको घोषणा गर्दै सुलभ श्रेष्ठले लोकतान्त्रिक आन्दोलनमा दिएको योगदानको सम्मानस्वरूप यो पहल गरिएको जानकारी दिए । उनका अनुसार छात्रवृत्ति कार्यक्रम यसै वर्षदेखि लागु गरिएको हो ।

त्यसैगरी, सहिद श्रेष्ठको परिवारजनको तर्फबाट पनि कलेजमा अध्ययनरत सिभिल, आर्किटेक्चर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर विषयका सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक वर्ष पुरस्कार प्रदान गर्ने कार्यक्रम सुरु गरिएको छ । यस वर्षदेखि सो पुरस्कार वितरणसमेत गरिएको कलेजले जनाएको छ ।

सरस्वती पूजा नेपाल तराई विद्यार्थी जागरण संघ, केइसी ब्वाइज होस्टेल र केइसी गर्ल्स होस्टेलको संयुक्त आयोजनामा भएको थियो ।  वरिष्ठ सहायक प्रिन्सिपल शैलिता मानन्धर जोशीले सरस्वतीको मूर्तिमा पूजा–अर्चना गरेर सुरुवात गरेकी थिइन्। कार्यक्रममा विद्यार्थी, कलेज व्यवस्थापन समिति तथा कलेज परिवारको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका संस्थापक तथा वरिष्ठ साहित्यकार डा. रामप्रसाद दाहालले हिन्दू संस्कृतिमा माता सरस्वतीको महत्त्व अत्यन्त उच्च रहेको उल्लेख गर्दै विद्या, बुद्धि र विवेकको अधिष्ठात्री देवी सरस्वतीको आराधनाले ज्ञानको प्रकाश फैलाउने बताए । उनले बसन्त पञ्चमीको विशेष धार्मिक र सांस्कृतिक महत्त्वबारे पनि प्रकाश पारे ।

कार्यक्रममा कलेजका स्वतन्त्र विद्यार्थी परिषदका सचिव महेश सिग्देल र रेफिना श्रेष्ठले सरस्वती पूजाको उद्देश्य र महत्वबारे चर्चा गरेका थिए । यसैगरी विभिन्न विभागीय प्रमुख, उप–प्रिन्सिपलहरू, सल्लाहकारहरू तथा कलेज प्रशासनका पदाधिकारीहरूले तहगत उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा करिब एक हजार विद्यार्थीको उपस्थिति रहेको थियो । दिनभर देवी वन्दना, अनुष्ठान तथा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य–नाटकहरू समेत प्रस्तुत गरिएको थियो ।