काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी नयाँ नेतृ डेल्सी रोड्रिगेजलाई सही काम नगरेमा मादुरोभन्दा पनि ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

अपदस्थ राष्ट्रपति निकोलास मादुरोलाई सोमबार न्यूयोर्कको अदालतमा उपस्थित गराउने तयारी गरिरहेको बेला उनको यो टिप्पणी आएको हो ।

अमेरिकाले लागूपदार्थ तस्करी र हतियारसम्बन्धी अपराधमा आरोप लागेका मादुरोले नार्को–आतङ्ककारी शासन चलाएको दाबी गरेको छ जुन आरोप मादुरोले अस्वीकार गरेका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार काराकासमा भएका हवाई आक्रमणपछि मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर अमेरिकामा लगिए पनि अमेरिका भेनेजुएलासँग युद्धमा नरहेको जिकिर गरेका छन्।

तर केही डेमोक्र्याट सांसदहरूले यो कारबाहीलाई युद्धको कार्य भनेका छन्।

आइतबार द एटलान्टिकसँगको अन्तर्वार्तामा ट्रम्पले रोड्रिगेजबारे भने “यदि उनले सही काम गरिनन् भने, उनले धेरै ठूलो मूल्य चुकाउनुपर्नेछ, सायद मादुरोभन्दा पनि ठूलो।”

उनले थपे कि भेनेजुएलाका लागि, “शासन परिवर्तन, तपाईं जे नाम दिनुहोस्, अहिलेको अवस्थाभन्दा राम्रो हुन्छ। यसभन्दा खराब त हुनै सक्दैन।”

शनिबार ट्रम्पले अमेरिका सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण सम्भव नहुँदासम्म भेनेजुएलालाई सञ्चालन गर्ने वाचा गरेका थिए।

उनले अमेरिकी तेल कम्पनीहरू भेनेजुएलामा आएर पूर्वाधार सुधार्ने र देशका लागि पैसा कमाउन सुरु गर्ने पनि बताएका थिए। तर अमेरिकी राष्ट्रपतिको दाबीका बाबजुद  मादुरोका सहयोगीहरू अझै पनि सत्तामा कायम छन्।

क्युबाली सरकारले अमेरिकी सेनाले मादुरो र उनकी पत्नीलाई आक्रमण गरी पक्राउ गर्दा ३२ जना साहसी क्युबाली लडाकु मारिएको जनाएको छ। मादुरोको दीर्घकालीन समाजवादी सहयोगी क्युबाले दुई दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।

आइतबार बिहानका विभिन्न टिभी अन्तर्वार्तामा रुबियोले भेनेजुएलामा गरिएको अमेरिकी सैन्य कारबाहीको बचाउ गर्दै यो कदमले अमेरिका भेनेजुएलासँग युद्धमा छ भन्ने अर्थ नलाग्ने बताए।

“हामी लागूपदार्थ तस्करी संगठनहरूसँग युद्धमा छौँ। त्यो भेनेजुएलासँगको युद्ध होइन,” रुबियोले एनबीसीको मिट द प्रेस कार्यक्रममा भने।

उनले सीबीएसलाई पनि भने कि यदि भेनेजुएलाले सही निर्णय गरेन भने अमेरिका हाम्रा हित सुरक्षित गर्न अनेक दबाबका उपायहरू कायम राख्नेछ।

त्यसमा भेनेजुएलाको तेलमाथि अमेरिकाले लगाएको क्वारेन्टिन पनि पर्छ, उनले भने। “उनीहरूले के गर्छन् भन्ने आधारमा हामी सबै कुरा मूल्याङ्कन गर्नेछौँ,” उनले थपे।

२०१३ देखि सत्तामा रहेका र युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुएलाका नेता मादुरोलाई विपक्षी दमन र असहमति दबाउन कहिलेकाहीँ हिंसा प्रयोग गरेको आरोप बारम्बार लाग्दै आएको छ।

उनी देशभित्रका विपक्षी र विदेशी सरकारहरू दुवैद्वारा २०२४ को निर्वाचन अवैध रूपमा जितेको मानिन्छ।

भेनेजुएलाका वामपन्थी नेता मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई शनिबार बिहान सबेरै गरिएको विशेष बलको नाटकीय कारबाहीमा उनीहरूको निवासबाट पक्राउ गरी अमेरिका लगियो। सो कारबाहीका क्रममा सैन्य अड्डाहरूमा पनि आक्रमण गरिएको थियो।

दुवैमाथि हतियार र लागूपदार्थसम्बन्धी आरोप लगाइएको छ र उनीहरू सोमबार न्यूयोर्कको अदालतमा उपस्थित हुदैछन्।

मादुरोले आफू कुनै कार्टेल नेता नभएको भन्दै अमेरिकाले आफ्नो लागूपदार्थविरुद्धको युद्धलाई बहाना बनाएर आफूलाई सत्ताच्युत गर्न र भेनेजुएलाको तेल हात पार्न खोजेको आरोप लगाएका छन्।

अमेरिकी अधिकारीहरूले आक्रमणमा कुनै अमेरिकी सैनिक हताहत नभएको बताए पनि, भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनोले मादुरोको सुरक्षा टोलीको ठूलो हिस्सा तथा सैनिक र निर्दोष सर्वसाधारण मारिएको दाबी गरेका छन्।

भेनेजुएलामा गरिएको कारबाही अघि किन कंग्रेसको स्वीकृति नलिइएको भन्ने प्रश्नमा रुबियोले एबीसीलाई भने, यो आक्रमण होइन, त्यसैले आवश्यक थिएन।

उनले यसलाई  कानून कार्यान्वयनको कारबाही भन्दै मादुरोलाई एफबीआई एजेन्टहरूले स्थलमै पक्राउ गरेको बताए। यस्तो कारबाहीबारे कंग्रेसलाई पहिले जानकारी दिन सकिँदैन, किनकि त्यो चुहिन्छ, उनले थपे।

मादुरोकी उपराष्ट्रपति डेल्सी रोड्रिगेज राष्ट्रको सर्वोच्च अदालतद्वारा शपथ गराइएपछि अहिले अन्तरिम राष्ट्रपति बनेकी छन्। देशको सेनाले पनि उनलाई समर्थन दिएको छ। उनले आज काराकासमा राष्ट्रपतिको रूपमा शपथ लिनेछिन्।

अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै रुबियोलाई अमेरिकाले रोड्रिगेजलाई वैध राष्ट्रपति मान्छ कि मान्दैन भन्ने प्रश्न सोधिएको थियो।

उनले जवाफ दिए, यो वैध राष्ट्रपति को हो भन्ने कुरा होइन, किनकि अमेरिकाले उक्त शासनलाई नै वैध नमान्ने बताए।

केही डेमोक्र्याट सांसदहरूले ट्रम्प प्रशासनको कदमको कडा आलोचना गरेका छन्।

हाउसका अल्पसंख्यक नेता हाकिम जेफ्रीजले कंग्रेसको स्वीकृति बिना गरिएको गोप्य सैन्य कारबाही साधारण लागूपदार्थविरोधी कारबाही मात्र होइन भने। यो युद्धको कार्य थियो, उनले एनबीसीको मिट द प्रेस कार्यक्रममा भने।

उनका अनुसार यसमा डेल्टा फोर्स, सेना, सम्भवत हजारौँ सैनिक, कम्तीमा १५० सैन्य विमान र भेनेजुएलाको तट नजिक दर्जनौँ जहाज संलग्न थिए।

हाउस इन्टेलिजेन्स कमिटीका सबैभन्दा वरिष्ठ डेमोक्र्याट जिम हाइम्सले सीबीएसको फेस द नेशन कार्यक्रममा आफूलाई ट्रम्प प्रशासनबाट सम्पर्क नभएको बताए।

सेनेट अल्पसंख्यक नेता चक शूमरले एबीसीको दिस वीक कार्यक्रममा अमेरिकी कारबाहीको वैधानिकतामाथि प्रश्न उठाए।

मादुरो खराब व्यक्ति भए पनि कानुनहीनतालाई अर्को कानुनहीनताबाट समाधान गर्न हुँदैन शूमरले भने। “यसरी शासन परिवर्तन र राष्ट्र निर्माण गर्न खोज्दा अमेरिकी जनताले रगत र पैसाको मूल्य चुकाउनुपर्छ भन्ने कुरा इतिहासले देखाएको छ,” उनले थपे।

उनले ट्रम्पले अनन्त युद्ध होइन भन्ने चुनावी वाचा त्यागेको पनि आरोप लगाए।

शूमर र जेफ्रीज दुवैले कंग्रेसको स्वीकृति बिना भेनेजुएलामा थप कुनै कदम चाल्न नपाउने प्रस्तावलाई समर्थन गर्ने बताएका छन्।

ब्राजिल, चिली, कोलम्बिया, मेक्सिको, उरुग्वे र स्पेनका सरकारहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिकी सैन्य कारबाहीले शान्ति र क्षेत्रीय सुरक्षाका लागि अत्यन्त खतरनाक नजिर स्थापना गरेको र सर्वसाधारणलाई जोखिममा पारेको बताएका छन्।

उनीहरूले भेनेजुएलाको समस्याको समाधान संवाद र वार्ता जस्ता शान्तिपूर्ण उपायबाट खोजिनुपर्ने बताएका छन्। साथै उनीहरूले अन्तर्राष्ट्रिय कानुनसँग नमिल्ने बाह्य नियन्त्रणले क्षेत्रको राजनीतिक, आर्थिक र सामाजिक स्थिरतामा खतरा पुर्‍याउनेप्रति चिन्ता व्यक्त गरेका छन्।