काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलामाथि आक्रमण सुरु गरेको र त्यहाँका राष्ट्रपति निकोलास मादुरोलाई नियन्त्रणमा लिएको बताएका छन्।

मादुरो र उनकी पत्नी न्यूयोर्क राज्यको स्टुवर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गराइएको छ। त्यसपछि उनीहरूलाई हेलिकोप्टरमार्फत म्यानह्याटनस्थित डीईए कार्यालय लगियो र पछि ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा सारियो ।

यसअघि राष्ट्रपति ट्रम्पले यूएसएस इवो जिमा जहाजभित्र आँखामा पट्टी बाँधिएको अवस्थामा मादुरोको तस्बिर सार्वजनिक गरेका थिए।

राष्ट्रपति ट्रम्पका अनुसार अमेरिका सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण सम्भव नहुन्जेलसम्म भेनेजुएलालाई सञ्चालन गर्नेछ।

भेनेजुएलाका केही नागरिकहरू ट्रम्प भेनेजुएलाको लोकतान्त्रिक भविष्य सुनिश्चित गर्न गम्भीर नभई यसको तेल सम्पदा लुट्न चाहन्छन् भन्ने विश्वास गर्छन् टम बेटम्यान लेख्छन्।

राज्य टेलिभिजनमार्फत दिएको सम्बोधनमा भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले मादुरो नै देशका एकमात्र राष्ट्रपति भएको बताएकी छन्।

मादुरोमाथि न्यूयोर्कमा लागुऔषध र हतियारसम्बन्धी अभियोग लगाइएको छ। उनले आफू लागुऔषध गिरोहको नेता भएको आरोप यसअघि नै अस्वीकार गरिसकेका छन्।

भेनेजुएलाले यो अत्यन्त गम्भीर सैन्य आक्रमण भएको र यस्को निन्दा गर्दै राष्ट्रिय आपतकाल घोषणा गरेको छ।