काठमाडौं - त्रिभुवन विश्वविद्यालयले हाल भएको बीएड तहको पाठ्यक्रम सुधार गर्ने तयारी गरेको छ ।

पुराना काम नलाग्ने बिषय हटाउने, आवश्यक नयाँ विषय थप्ने,हाल कार्यान्वयनमा रहेको पाठ्यक्रममा सुधार गर्दै बीएडको नयाँ पाठ्यक्रम निर्माण गर्ने गरी शिक्षा शास्त्र संकाय डीनको कार्यालयले विज्ञ तथा सरोकारवालाहरूबाट सुझाव संकलन गर्न सुरु गरेको छ ।

यसैबीच विद्यालय शिक्षा क्षेत्रमा प्रविधिक सहयोग कार्यक्रमको सहयोगमा शिक्षा शास्त्र संकाय डीनको कार्यालयले  काठमाडौंमा बीएड तहको पाठ्यक्रम संरचना विकास कार्यशालाको आयोजना गरेको छ । कार्यशालाको  त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसीले उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै रेक्टर प्राडा केसीले शिक्षक पेशालाई प्राथमिकतामा परेको पेशा बनाउन जरुरी भएको बताए ।  

शिक्षा शास्त्र संकायका डीन प्रा. डा. वेदराज आचार्यले विद्यालय र विश्वविद्यालयको उपलब्धिहरूलाई विभिन्न अनुसन्धानहरूले कम देखाएकोले पनि पाठ्यक्रम सुधार गर्न आवश्यक ठानिएको बताउनुभयो । छलफलमा विज्ञहरूबाट आएका सुझावहरू पाठ्यक्रम निर्माणका लागि महत्वपुर्ण हुने बताउनुभयो ।

डीन प्रा. डा. आचार्यको  अध्यक्षतामा भएको सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व भीसी प्रा. डा. तिर्थराज खनिया,राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा, शिक्षा सेवा आयोगका प्रशासनिक प्रमुख चन्द्रकान्त भुसाल, शिक्षा मन्त्रालयका सहसचिव शिव कुमार सापकोटा, पूर्व भीसी प्रा. डा. हिरा बहादुर महर्जन, नेपाल खुल्ला विश्वविद्यालयका पुर्व भीसी प्रा. डा. लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्व भीसी प्रा. डा. प्रेम नारायण अर्याल, विद्यालय शिक्षा क्षेत्रमा प्राविधिक सहयोग परियोजनाका चिफ टेक्निकल ऐरिता लगायतका वक्ताहरुले शिक्षकहरुको सीप विकास, कक्षाकोठामा हुने प्रस्तुति, अध्ययन गर्ने बानीको विकास गर्न जरुरी रहेको बताउनुभयो ।

साथै त्रिभुवन विश्वविद्यालयलाई पुनर्संरचना नगरी शिक्षा शास्त्र संकायलाई पुनर्संरचना गर्न नसकिने भनाई वक्ताहरूको थियो । उच्च शिक्षाको पुनर्संरचनामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नै अग्रसरता देखाउनुपर्नेमा समेत जोड दिएका थिए ।

शिक्षा शास्त्र संकायसंग सम्बन्धित विभिन्न विश्वविद्यालयका उपकुलपति, शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्क्रम विकास केन्द्र, शिक्षक सेवा आयोग, राष्ट्रिय परीक्षा बोर्ड लगायत सरोकारवालाहरूको उपस्थिति रहेको सो कार्यशाला तीन दिनसम्म चल्नेछ ।

डा. कमल राज देवकोटाले कार्यक्रमको सहजीकरण गरेका थिए ।