काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद तोकिएको र राहदानी रोक्का गरिएको विषयमा कुनै जानकारी नदिएको बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनले सरकार वा कुनै निकायले आफूलाई लिखित वा मौखिक रूपमा सूचना नपठाएको बताए। ‘कुन कानुन र कुन औचित्यका आधारमा यस्तो निर्णय भयो भन्ने बारे जानकारी छैन,’ लेखकको भनाइ छ।
उनका अनुसार दुई महिना अघि आफू र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद तोकिएको र राहदानी रोक्का गरिएको समाचारबाट मात्रै थाहा पाएका हुन्।
लेखकले जेनजी आन्दोलनका क्रममा राज्य पक्षबाट भएको दमनप्रति आफू जिम्मेवार नभएको स्पष्ट पारे। उनले आन्दोलनका दिनहरूमा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा निकायलाई पटक–पटक निर्देशन दिएको दाबी गरे। ‘क्याजुलिटी नहोस् भनेर मैले गृहमन्त्रालय र प्रहरी प्रमुखलाई पटक–पटक भनें,’ उनले बैठकमा सुनाए।




0 comment