उत्तरतिर विशाल छिमेकी राष्ट्र चीन र दक्षिणतिर अर्को विशाल राष्ट्र भारतको बीचमा अवस्थित हिमाली राज्य नेपाल एक स्वतन्त्र, स्वाधीन र सार्वभौमसत्ता सम्पन्न देश हो । युगौँदेखि भौगोलिक रूपमा दुई ठूला राष्ट्र चीन र भारत बीच अवस्थित रहँदै आएकाले पनि नेपालका यी दुई छिमेकी मित्र राष्ट्रहरू चीन र भारतसँग नेपालको पुरानो तथा घनिट सम्बन्ध रहँदै आएको छ । भौगोलिक निकटता मात्र नभएर सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा समेत उनीहरूसँग नेपालको गहिरो घनिष्टता छ । प्राकृतिक स्रोत, साधनको समुचित उपयोग तथा आर्थिक रूपान्तरणमा पनि यी छिमेकी राष्ट्रहरूसँगको सम्बन्धमा पनि महत्वपूर्ण योगदान रहिआएको छ । द्विपक्षीय तथा त्रिपक्षीय हितका लागि यी दुई छिमेकी राष्ट्रका बीच नेपालसँग सदियौँदेखि मैत्री सन्धि तथा सम्झौताहरू भएका छन, जुन नेपालको लागि महत्वपूर्ण र गहन विषय पनि हुन् ।
यति हुँदाहुँदै पनि नेपाल भारतको तीनतिरको भू–भागले घेरिएको र भूपरिवेष्टित मुलुक भएका कारण व्यापार, पारवहन तथा यातायातका दृष्टिले भारतसँग बढी भर पर्नुपर्ने र दुबै मुलुकको पारस्परिक हित र विकासका लागि अत्यन्तै घनिष्ट र मैत्रीपूर्ण सम्बन्ध कायम रहिरहन आवश्यक कुरा हो । छिमेकी राष्ट्रहरूसँगको असल सम्बन्ध र सहकार्यबिना कुनै पनि देश अगाडि बढ्न सक्तैन । यसै सन्दर्भमा छिमेकी राष्ट्र बीच पारस्परिक हित र लाभ तथा विकासका लागि समय समयमा विभिन्न किसिमका सन्धि, सम्झौताहरू हुने गर्छन् । ती सन्धि सम्झौताहरूको पालना गराउन सम्बन्धित राष्ट्रहरूको अनिवार्य दायित्व हुन जान्छ तर यति हुँदाहुँदै पनि ३ मार्च १८१६ को ब्रिटिस भारत (इस्ट इन्डिया कम्पनी) सरकार बीच सम्पन्न राष्ट्रघाती सुगौली सन्धिदेखियता सन् १९५० को असमान तथा अपमानजनक सन्धिलगायत जलस्रोत, व्यापार, पारवहन, बाणिज्य, सुरक्षा तथा अन्य कुटनीतिक क्षेत्रमा गरिएका हरेक सन्धि, सम्झौताहरूमा सिङ्गो नेपाल राष्ट्र र आम नेपाली जनता ठगिँदै, अपमानित तथा अपहेलित हुँदै आएका छन् । राष्ट्रघाती सुगौली सन्धिबाट नेपालले झन्डै दुईतिहाइ भू–भाग गुमाउन मात्र बाध्य भएन, नेपालको सुरक्षा मामिलामा समेत ब्रिटिस–भारतको सुरक्षा छाताभित्रबाट चल्ने र नेपालको हरेक क्षेत्रमा उसकै निगरानी चल्ने भएबाट एउटा स्वतन्त्र, स्वाधीन तथा सार्वभौमसत्ता सम्पन्न देश नेपाल सुगौली सन्धिदेखि अर्धऔपनिवेशिक अवस्थामा गुज्रन बाध्य भयो जुन १९६ वर्षपछिसम्म पनि नेपालको उही अर्धऔपेनिवेशिक अवस्था कायम छ र अहिले त झनै विस्तारवादी भारतले नवऔपनिवेशिक दासता नेपालमाथि थोपरिरहेको छ ।
यसरी नेपाल–भारतका बीचमा भए–गरिएका राष्ट्रघाती सन्धि सम्झौताहरू, तिनले नेपाल राष्ट्र र नेपाली जनताहरूलाई के प्रभाव पारिरहेका छन् ? भन्ने विषयमा यहाँ प्रकाश पार्ने प्रयत्न गरिएको छ ।
नेपालमा भएका राष्ट्रघातका शृङ्खलाहरू :
नेपालमा विभिन्न कालखण्डमा भएका राष्ट्रघातका शृङ्खलाहरूको अध्ययन गर्ने क्रममा आधुनिककालमा आएर नेपाल र भारत बीचको सम्बन्धलाई आधार बनाउन सकिन्छ । इतिहासमा ईश्वीको आरम्भिक शताब्दीदेखि र १२०० पूर्वका युगलाई प्राचीन, त्यसपछि पृथ्वीनारायण शाहले काठमाडौंलाई उपत्यका विजय गरेको विन्दुउताको काललाई मध्यकाल र त्यसपछिको काललाई आधुनिक काल मानिएको छ । यो अवधिमा नेपाल विभिन्न राजा, रजौटा, भुरेटाकुरे र बाइसे चौबिसे राज्यहरूमा खण्डित थियो । यी कालहरूमा नेपालकै जस्तो भारत पनि एकीकृत, विखण्डित एवं पुनर्एकीकृत हुने प्रक्रियाहरूको बीच भएर गुज्रिएको देखिन्छ । प्राचीनकालदेखि मध्यकालसम्मको अवधिमा कुषाण, गुप्त, मगध खलकहरूले साम्राज्य खडा गरेको पाइन्छ भने आठौँ शताब्दीपछि विशाल भारत मुगल साम्राज्यमा रूपान्तरित भयो तर, १८औँ शताब्दीपछि विशाल भारत टुक्रिन थाल्यो र सात सयभन्दा बढी राज्यहरू अस्तित्वमा आएको देखिन्छ । ठिक यसै शताब्दीमा भारतमा ब्रिटिस व्यापारीहरू प्रकट भए, जसले क्रमशः ती राज्य र रजौटाहरूलाई अधिनस्थ गर्ने क्रममा नै पुनःविशाल भारतको निर्माण भयो । ब्रिटिसको यही विजय अभियानको घानमा नेपाल पनि पर्न जाँदा ईश्वी सम्वत १८१४ मा दुबै देश बीच भयंकर युद्ध हुन पुग्यो ।
त्यतिबेला यता नेपालमा पनि गोर्खाका राजा पृथ्वीनारायण शाह पनि आफ्नो राज्यको विस्तार अभियानमा लागेका थिए । उनले नेपाल उपत्यका बाहिर सर्वप्रथम मकवानपुर जिते भने काठमाडौं उपत्यका जित्न झन्डै २५ वर्ष लागेको थियो । मकवानपुरको युद्धमा बङ्गालका नवाव मोरकासिमले थप्पड मात्र खाएनन् कि १७०० बङ्गाली सेना मारिएका थिए । सिन्धुलीगढीको युद्धमा १६०० ब्रिटिस भारतीय सेना एकै चिहानभएका थिए । यी दुई घटना यस्ता भएका थिए कि जसले गर्दा पृथ्वीनारायण शाहको गोरखा विस्तारको चरित्र मात्र रूपान्तरित भएन, विदेशी आक्रमणकारीहरूको नेपाललाई हेर्ने दृष्टिकोणमा पनि फेरबदल आएको थियो । परिणामतः पृथ्वीनारायण शाहको विजय अभियान नेपालको साम्राज्यवाद विरोधी देशभक्तिपूर्ण युद्धमा परिणतः भयो भने ब्रिटिस कम्पनीले पनि नवनिर्मित नेपालप्रति आक्रामक होइन, शान्तिपूर्ण सम्बन्धको नीति अख्तियार गर्यो यसै नीतिमा टेकेर पृथ्वीनारायण शाहपछिको पुस्ताले नेपाललाई पूर्वमा टिस्टा र पश्चिममा सतजलसम्म विस्तार गर्यो।
करिब ५० वर्षको अवधि अर्थात् १७६०–१८१० मा नेपालले स्वयंलाई एउटा विशाल एवं शक्तिशाली हिमाली राज्यका रूपमा मात्र विकास गरेको होइन, सँगसँगै यस उपमहाद्वीपमा अंग्रेज शासन, शोषण एवं थिचोमिचो विरुद्ध एसियाली एकतासम्मको कुरो गर्न थालेको थियो । स्वभावतः यो कुरा तत्कालीन ब्रिटिस भारतीय शासकहरूलाई मन परेको थिएन । त्यसैले, उसले समयमा नै नेपालको ढाड भाँचेर त्यस्तो महत्वकांक्षालाई दमन गर्ने नीति अख्तियार गर्यो र त्यसको प्रकट रूप नै ई १८१४ को नेपाल अंग्रेज युद्ध थियो, जो दुई वर्षसम्म चल्यो र नेपालको पूर्ण पराजयका साथ दुई वर्षपछि युद्ध टुंगियो । युद्धमा नेपालका करिब ४५ हजार मानिसले बलिदान दिए भने ठूलो धनजनको क्षति मात्र होइन, आफ्नो झन्डै एक तिहाइ भू–भाग गुमायो । ३ मार्च १८१६ मा अपमानपूर्ण एवं असमान सुगौली सन्धिमा पनि हस्ताक्षर गर्न बाध्य हुनुपर्यो र सोही मितिदेखि एउटा स्वतन्त्र, स्वाधीन र सार्वभौमसत्ता सम्पन्न मुलुक नेपाल अर्धऔपनिवेशिक अवस्थामा प्रवेश गर्यो।



0 comment