काठमाडौं - अमेरिकाको मिनेसोटाको मिनियापोलिसस्थित एक क्याथोलिक चर्चमा प्रार्थनाको क्रममा भएको गोलीकाण्डमा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु भएका बालबालिका ७ र १० बर्षका हुन् ।१७ जना घाइते भएका छन ।
एनन्सिएसन चर्चमा विद्यालय पनि सञ्चालन हुँदै आएको छ। बुधबार भएको घटनाको समयमा चर्च विद्यार्थीहरूले भरिएको थियो। घाइते मध्ये १४ जना बालबालिका रहेका छन् र सबैको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ।
हमलाकारी २३ वर्षीय रोबिन वेस्टम्यानले घटनास्थलमै आत्महत्या गरेका थिए। उनको ठूलो आपराधिक इतिहास नभएको अधिकारीहरूले जनाएका छन्।
“निरपराध बालबालिका र प्रार्थनामा सहभागी भएकाहरूलाई लक्षित गरेर गरिएको यो हिंसात्मक आक्रमण भएको प्रहरी प्रमुख ब्रायन ओ हारााले पत्रकारलाई भने।
“बालबालिकाले भरिएको चर्चमा गोली चलाउने कायरता र क्रुरता अकल्पनीय छ” उनले थपे।
यो घटनालाई घरेलु आतङ्कवाद र क्याथोलिकहरूविरुद्ध गरिएको घृणात्मक अपराधका रूपमा लिईएको छ ।
हमलाकारीले भवनको छेउबाट तीन प्रकारका हतियार राइफल, सटगन र पिस्तोल प्रयोग गरी चर्चको झ्यालतर्फ अनेकौँ गोली चलाएका थिए। घटनास्थलमा एक धुवाँ बम पनि फेला परेको छ।
यो विद्यालय दक्षिण मिनियापोलिसको आवासीय क्षेत्रमा रहेको छ र ५ देखि १४ वर्षका विद्यार्थीहरू यहाँ पढ्छन्।
हमलाकारीको आमा मेरी ग्रेस वेस्टम्यान यसै विद्यालयमा कार्यरत थिइन् जुन कुरा २०१६ को विद्यालय न्युजलेटरमा उल्लेख छ। फेसबुक पोस्टअनुसार उनले २०२१ मा अवकाश लिएकी थिइन्।
अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले गहिरो संवेदना व्यक्त गरेका छन्। उनले ह्वाइट हाउसमा अमेरिकी झण्डा आधा झुकाइने घोषणा गर्दै पीडितहरूको सम्मान गर्ने बताएका छन् ।



0 comment