काठमाडौं - दक्षिणी गाजा पट्टीको एउटा अस्पतालमा इजरायली आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ । जसमा पाँच जना पत्रकार समेत मारिएको खबर छ ।

यी पत्रकारहरू एसोसिएटेड प्रेस, रोयटर्स, अल जजीरा र मिडल इस्ट आइ जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि काम गर्थे।

हामासद्वारा सञ्चालन गरिएको सिभिल डिफेन्सका अनुसार पहिलो आक्रमणमा केही व्यक्तिहरू मारिएका थिए र उद्धारकर्ताहरू घटनास्थलमा पुगेपछि भएको दोस्रो आक्रमणमा अरूको ज्यान गएको हो ।

इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै सो क्षेत्रमा आक्रमण गरेको पुष्टि गरेको छ । साथै निर्दोष व्यक्तिहरूलाई क्षति पुगेकोमा दुःख व्यक्त गर्दै पत्रकारलाई लक्षित गर्ने आफुहरुको उद्देश्य नभएको बताएको छ ।

यो घटना गाजा सिटीस्थित अल-शिफा अस्पताल नजिकै इजरायलले गरेको लक्षित आक्रमणमा छ जना पत्रकार मारिएको दुई सातापछि भएको हो।

इजरायलले अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न गाजामा प्रवेश गर्न अनुमति दिएको छैन।

सोमबार गाजाको एउटा अस्पतालमा गरिएको दुई पटकको इजरायली आक्रमणमा पाँच जना पत्रकारसहित स्वास्थ्यकर्मी र अन्य व्यक्तिहरूको मृत्यु भएपछि इजरायले कडा आलोचनाको सामना गरिरहेको छ।

फिलिस्तिनी स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भएको उक्त आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको छ भने धेरै जना घाइते भएका छन् ।

मन्त्रालयले खन युनिसस्थित नासेर अस्पतालमा इजरायलले केही मिनेटको अन्तरमा दुई पटक आक्रमण गरेको जनाएको छ। पहिलो आक्रमणपछि उद्धार गर्न पुगेका पत्रकार, स्वास्थ्यकर्मी र आपतकालीन टोलीहरू दोस्रो आक्रमणमा मारिएका हुन् ।

अस्पतालका प्रवक्ता र नर्सिङ प्रमुख डा. मोहम्मद साकेरका अनुसार पाँच जना पत्रकार र चार जना स्वास्थ्यकर्मीको मृत्यु भएको हो।

मृत पत्रकारहरूमा अल जजीराका क्यामेराम्यान मोहम्मद सलामा, रोयटर्सका ठेकेदार हुस्साम अल-मस्री, एपी र अन्य अन्तर्राष्ट्रिय मिडियासँग काम गर्ने मरियम अबु डग्गा, र स्वतन्त्र पत्रकार मोअथ अबु ताहा र अहमद अबु अजीज छन्।

गाजाको सिभिल डिफेन्स संगठनले आफ्नो एक सदस्य पनि मारिएको जनाएको छ।

इजरायली आक्रमण अस्पतालको बार्दलीमा लागेको थियो । जुन स्थान पत्रकारहरूले खन युनिस हेर्न प्रयोग गर्ने ठाउँ थियो।

पहिलो आक्रमण अस्पतालको चौथो तलामा परेको थियो भने केही समयपछि भएको दोस्रो आक्रमणमा एम्बुलेन्स र उद्धारकर्मीहरूलाई लक्षित गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

घटनास्थलबाट प्राप्त भिडियोमा डा. साकेरले रगतले भिजेको कपडा देखाइरहेका बेला अर्को विस्फोट हुन्छ र भवन धुवाँले ढाकिएको देखिन्छ ।

अल गद टिभीको लाइभ क्यामेरामा उद्धारकर्मीहरू क्षतिग्रस्त सिढीमा काम गरिरहेको बेला दोस्रो आक्रमण भएको देखिन्छ।

इजरायली सेनाले विज्ञप्ति जारी गर्दै अस्पताल वरिपरि आक्रमण गरेको दाबी गर्‍यो। उनीहरूले पत्रकारहरूलाई लक्षित गर्दैनौं भनेका छन् र तत्काल प्रारम्भिक छानबिन सुरु गर्न आदेश दिएको बताएका छन्।

तर प्रारम्भिक छानबिनबारे जानकारी राख्ने एक इजरायली अधिकारीले सेनाले अस्पतालको छतमा रहेको एउटा क्यामेरा हामासले प्रयोग गरेको भन्दै त्यसलाई ड्रोनमार्फत नष्ट गर्न अनुमति पाएको तर त्यसको साटो दुईवटा ट्याङ्क शेल प्रहार गरेको बताएका छन्।

पहिलो शेल क्यामेरामा प्रहार गरिएको थियो भने दोस्रो उद्धारकर्मीहरूमा। यो बयानबाट इजरायलले जानाजानी उद्धारकर्मीहरूलाई आक्रमण गरेको स्वीकार भएको देखिन्छ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया

पत्रकार संगठन र अन्तर्राष्ट्रिय निकायहरूले घटनाप्रति आक्रोश र आघात व्यक्त गरेका छन्।

इजरायल र फिलिस्तिनी क्षेत्रमा कार्यरत विदेशी पत्रकार संघले यो आक्रमणलाई “गाजा युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय पत्रकारहरूलाई लक्षित गरिएको सबैभन्दा घातक आक्रमणमध्ये एक” भनेको छ।

यूएनआरडब्ल्यूएका प्रमुख फिलिप लाज्जारिनीले यसलाई “बालबालिकाहरू भोकमरीले चुपचाप मर्दै गरेको अवस्था रिपोर्ट गर्ने अन्तिम आवाजलाई चुप पार्ने प्रयास” भनेका छन्।

फिलिस्तिनी पत्रकार संघले यसलाई “पत्रकार र मिडिया टोलीलाई सिधै लक्षित गरिएको नरसंहार” भनेको छ।

पत्रकार सुरक्षा समितिका अनुसार सोमबारभन्दा अघि नै गाजाको युद्ध सुरु भएपछि इजरायलले १ सय ९२ पत्रकारलाई मारिसकेको छ। समितिका अध्यक्ष जोडी गिन्सबर्गले इजरायलले जानाजानी रोयटर्सको क्यामेरा स्थान र उद्धारकर्मीहरूलाई लक्षित गरेको भन्दै यो युद्ध अपराध भएको बताए।

मारिएका पत्रकारहरूबारे

सीएनएनले गतवर्ष मारिएका पत्रकार मरियम अबु डग्गालाई प्रोफाइल गरेको थियो। उनले ३१ वर्षको उमेरमा “गाजाको युद्धबारे रिपोर्ट गर्नु हाम्रो पत्रकारिताको कर्तव्य हो” भनेकी थिइन्। उनको १२ वर्षको छोरालाई युद्ध सुरु भए लगत्तै गाजाबाट बाहिर निकालिएको थियो।

एपीले अबु डग्गाको मृत्युमा “आघात र दुःख” व्यक्त गरेको छ। अल जजीराले यसलाई “इजरायली सेनाद्वारा पत्रकारहरूलाई लक्षित गरी गरिएको भयानक अपराध” भनेको छ।

नेटवर्कले भनेको छ “पत्रकारहरूलाई लक्षित गर्ने इजरायली अभियानले सबै अन्तर्राष्ट्रिय मापदण्ड र कानुन उल्लङ्घन गरेको छ, जसलाई रोम विधान र जेनेभा सम्झौताअनुसार युद्ध अपराध मानिन्छ।”

हामासले भनेको छ “कायर शत्रुको उद्देश्य पत्रकारहरूलाई सत्य उजागर गर्न र युद्ध अपराध, जातीय सफाया, र गाजामा हाम्रो जनताको दयनीय अवस्थाबारे रिपोर्ट गर्न रोक्नु हो।”

दुई साताअघि इजरायलले गाजा सिटीमा अल जजीराका पत्रकारहरूलाई आक्रमण गरी मारेको थियो । जसमा चर्चित संवाददाता अनस अल-शरिफ पनि थिए।

इजरायलले उनलाई हामास रकेट सेलको नेता भएको आरोप लगाएको थियो जुन उनले अस्वीकार गरेका थिए।