काठमाडौं - काश्मीरमा मनसुनका कारण आएको भीषण बाढी र पहिरोमा कम्तीमा ३ सय ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकको संख्या बढ्न सक्ने बताईएको छ ।
उत्तरी–पश्चिम पाकिस्तानको पहाडी क्षेत्र खैबर पख्तुनख्वा प्रान्तमा सबैभन्दा बढी मृत्यु भएको प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ। कम्तीमा ७४ घर ध्वस्त भएका छन् ।
उद्धार कार्यमा खटिएको एउटा हेलिकोप्टर दुर्घटनामा परेको छ। जसमा चालक दलका पाँचै जनाको मृत्यु भएको छ । खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमिन गडापुरका अनुसार अफगानिस्तानसँग सीमा जोडिएको बाजौरतर्फ जाँदै गरेको एम–१७ हेलिकोप्टर खराब मौसमका कारण दुर्घटनाग्रस्त भएको हो।
सरकारी मौसम पूर्वानुमानकर्ताहरूले देशको उत्तर–पश्चिम क्षेत्रमा २१ अगस्टसम्म भीषण वर्षा जारी रहने जनाएका छन्। ती क्षेत्रका धेरै स्थानलाई प्रकोप क्षेत्र घोषणा गरिएको छ।
खैबर पख्तुनख्वाले एक दिनको शोक घोषणा गरेको छ।
दक्षिण एशियामा जूनदेखि सेप्टेम्बरसम्म पर्ने मनसुनले वार्षिक वर्षाको करिब तीन–चौथाइ पानी ल्याउँछ। यस समयमा पहिरो र बाढी सामान्य मानिन्छ र यस वर्ष मात्रै ३ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
जुलाई महिनामा पाकिस्तानको २५.५ करोड जनसंख्या मध्ये आधाभन्दा बढी बसोबास गर्ने पञ्जाब प्रान्तले अघिल्लो वर्षको तुलनामा ७३ प्रतिशत बढी वर्षा र मृत्यु भएको जनाएको थियो।
जलवायु परिवर्तनका कारण मौसमजन्य घटनाहरू अझै बढी चरम र बारम्बार हुने बताएका छन् ।



0 comment