काठमाडौं - कश्मीरमा एक गाउँमा आएको भीषण बाढीमा ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ।

बाढी हिमालयको प्रसिद्ध मन्दिरतर्फ जाने व्यस्त तीर्थमार्गमा पर्ने किस्तवार जिल्लाको दुर्गम गाउँ छोशितीमा आएको हो।

अनलाइनहरुमा सेयर गरिएका भिडियोहरूमा भीषण बाढीको पानी,बगाइएका सवारी साधन,उद्धारकर्मीहरूले क्षतिग्रस्त घरहरूमा बाँचेकाहरू खोजिरहेको दृश्य देखिएको छ । सडकमा केही मानिसहरू रोइरहेका देखिन्छन् भने कतिपयको शरीरमै हिलो टाँसिएको छ।

दर्जनौं तीर्थयात्रुहरूलाई सुरक्षित स्थानमा सारिएको छ । अझै कम्तीमा ५० जना हराइरहेको आशंका गरिएको छ । उद्धार कार्य जारी छ।

अधिकारीहरूले भने अनुसार यो बाढी बादल फाटेर आएको थियो। संघीय मन्त्री तथा जम्मु–काश्मीरका सांसद जितेन्द्र सिंहले यसलाई ठुलो घटना भन्दै उद्धार टोलीलाई घटनास्थल पुग्न गाह्रो भइरहेको बताए।

सडक पूरै बगाइसकेको र मौसम राम्रो नभएकोले हेलिकप्टर प्रयोग गर्न सुरक्षित नभएको उनले जनाए।  

प्रदेशका मुख्यमन्त्री उमर अब्दुल्लाले यस घटनालाई त्रासदी भन्दै शुक्रबारको भारतको स्वतन्त्रता दिवसका केही सांस्कृतिक कार्यक्रमहरू रद्द गरिएको घोषणा गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आवश्यक परेका सबैलाई सम्भाव्य सबै सहयोग उपलब्ध गराइने बताएका छन्।

हालैका दिनहरूमा भारतको उत्तरी भागमा अत्यधिक वर्षा भइरहेको छ जसका कारण धेरै क्षेत्रमा भीषण बाढी आएको छ।

गत हप्तामा उत्तराखण्ड राज्यको धाराली गाउँको झन्डै आधा भाग ठूलो बाढीले डुबाएको थियो।