काठमाडौं - इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा सिटीमा नियन्त्रण गर्ने आफ्नो सरकारको योजनाको बचाउ गर्दै यसलाई युद्ध अन्त्य गर्ने सर्वश्रेष्ठ उपाय भएको दाबी गरेका छन्।

आत्मविश्वासी मुद्रामा देखिएका प्रधानमन्त्री नेतान्याहुले कुनै सम्झौताको संकेत नदिएको र उक्त कारबाही कहिले सुरु हुने बारे समयसीमा पनि बताएका छैनन् ।

बेलायत,फ्रान्स र अन्य युरोपेली देशहरूले इजरायलको यो योजनाले अन्तर्राष्ट्रिय मानवतावादी कानुन उल्लङ्घन गर्ने जोखिम रहेको चेतावनी दिएका छन्।  यसैबीच गाजाबारे संयुक्त राष्ट्रसंघको आपत्कालीन बैठक न्यूयोर्कमा भइरहेको छ ।

गाजामा कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या २ सय १७ पुगेको छ । जसमा १ सय जना बालबालिका रहेका छन् ।  नेतान्याहुले भने गाजावासीलाई भोकमरीमा राखेको आरोप अस्वीकार गरेका छन्।

इजरायली सरकारले अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई गाजामा स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न अनुमति दिएको छैन।