काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट तेल खरिद गरेको भन्दै भारतमाथि थप २५ प्रतिशत आयात शुल्क लगाउने कार्यकारी आदेश जारी गरेका छन्।
२५ प्रतिशत शुल्क बढाएसंगै अब भारतबाट अमेरिकी बजारमा निर्यात हुने सामानमाथि कुल ५० प्रतिशत शुल्क लाग्नेछ । जुन अमेरिकी इतिहासमै सबैभन्दा उच्च दरहरूमध्ये एक हो।
यो नयाँ शुल्क २१ दिनपछि अर्थात् २७ अगस्टदेखि लागू हुने बताईएको छ ।
भारतले रुसबाट आयात सम्बन्धी आफ्नो धारणा पहिल्यै स्पष्ट गरिसकेको छ र उक्त शुल्कलाई अन्यायपूर्ण,असंगत र अनुचित भनि बुधबार भारतको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत प्रतिक्रिया दिएको छ ।
संक्षिप्त विज्ञप्तिमा भनिएको छ आफ्नो राष्ट्रिय हितका लागि यस्ता कदम चालिरहेका अन्य देशहरू जस्तै भारतलाई मात्र लक्षित गर्दै अमेरिकाले थप शुल्क लगाउनु अत्यन्त दुर्भाग्यपूर्ण हो। भारतले आफ्नो राष्ट्रिय हित जोगाउन आवश्यक सबै कदम चाल्नेछ विज्ञप्तिमा भनिएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि नै शुल्क बढाउने चेतावनी दिएका थिए ।
बुधबार ह्वाइट हाउसले दिएको वक्तव्यमा भनिएको छ रुसी महासंघको युक्रेनमा जारी क्रियाकलापले अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीति माथि खतरा उत्पन्न गरिरहेको छ जसले गर्दा थप कडा उपायहरू आवश्यक छन्। भारतको रुसबाट तेल आयातले युक्रेनमा रूसको गतिविधिको प्रतिकार गर्न अमेरिकी प्रयासहरूलाई कमजोर पारिरहेको समेत उल्लेख गरिएको छ।
ह्वाइट हाउसले रुसबाट तेल आयात गर्ने अन्य देशहरूको पनि समीक्षा गर्ने र राष्ट्रपति ट्रम्पलाई आवश्यक कदमका लागि सिफारिस गर्ने जनाएको छ ।
तेल र ग्यास रुसका सबैभन्दा ठूला निर्यात वस्तुहरू हुन् । जुन चीन,भारत र टर्की उसका प्रमुख ग्राहकहरू हुन्।
ट्रम्प–मोदी सम्बन्धमा चिसोपन, नयाँ शुल्कले थप तनाव
युद्धको समाधान खोज्ने उद्देश्यले ट्रम्पका शीर्ष दूत स्टीभ विटकोफले बुधबार मस्कोमा गरेका बैठकपछिको प्रतिक्रिया स्वरूप यी शुल्क घोषणा भएका हुन्।
भारतले यसअघि पनि रुसबाट तेल खरिदको कारण देखाउँदै ट्रम्पको शुल्कको धम्कीलाई अन्यायपूर्ण र अनुचित भनेको थियो।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पुरानो विज्ञप्तिमा भनेका थिए कि संघर्ष सुरु भएपछि युरोपका देशहरूले पारम्परिक आपूर्तिहरू हटाएपछि विश्व ऊर्जा बजारको स्थिरता कायम गर्न अमेरिकाले नै भारतलाई रुसी ग्यास खरिद गर्न प्रोत्साहित गरेको थियो।
शुक्रबारसम्मको समयसीमा पछि ट्रम्पले रूसमाथि थप प्रतिबन्धहरू घोषणा गर्ने र उसका तेल किन्ने देशहरूमाथि १०० प्रतिशत शुल्क लगाउने धम्की दिएका छन् । जुन कार्यान्वयन भएमा अन्य देशहरूमा पनि गहिरो असर पर्न सक्छ।
ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विगतमा एक अर्कालाई मित्रको रूपमा उल्लेख गरेका थिए । ट्रम्पको पहिलो कार्यकालमा एकअर्काको देशमा ठूला जनसभाहरूमा सहभागी पनि भएका थिए।
तर नयाँ शुल्कहरूले यो सम्बन्धमा चिसोपन देखिएको छ र भारत–अमेरिका बीचको हित अलग–अलग दिशामा जाँदैछ भन्ने सङ्केत दिन्छ।
यी शुल्कहरूले अमेरिकी बजारमा भारतीय वस्तुहरू निकै महँगो बनाउनेछ । भारतको अमेरिका-गन्तव्य निर्यात ४०–५० प्रतिशत सम्म घट्न सक्ने अनुमान दिल्लीस्थित थिंक ट्यांक ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभले गरेको छ।
पूर्व भारतीय व्यापार अधिकारी अजय श्रीवास्तवले भारतले संयमता देखाउनुपर्ने ,कम्तीमा ६ महिनासम्म प्रतिघात नगर्नु राम्रो हुने र धम्की वा अविश्वासको वातावरणमा सार्थक व्यापार वार्ता अघि बढ्न नसक्ने कुरालाई उल्लेख गर्नुभएको छ ।


0 comment