काठमाडौं - भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा मङ्गलबार मुसलधारे वर्षापछि आएको भीषण बाढीमा परेर कम्तीमा ४ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी मानिसहरू हराइरहेका छन्।

प्राकृतिक प्रकोपपछि उद्धार कार्य सुस्त गतिमा अघि बढिरहेको छ। बाढीले सडक तथा भवनहरू पुरिदिएको छ, ठुलो मात्रामा हिलो र मलुवा जमेको छ। उत्तरकाशीका धेरै स्थानहरूमा भारी वर्षाका कारण बाटोहरू भत्किएका छन् र संचार तथा विद्युत् सेवा अवरुद्ध छ।

हालसम्म १३० जनालाई उद्धार गरिएको छ भने हराइरहेका मध्ये १० जना भारतीय सेनाका सैनिक रहेको जनाइएको छ। भारतीय जलवायु विभागले आगामी दिनहरूमा थप भारी वर्षाको चेतावनी दिएको छ र जोखिमयुक्त क्षेत्रतर्फ यात्रा नगर्न जनतालाई आग्रह गरिएको छ।

उत्तरकाशीको धाराली गाउँमा मङ्गलबार दिउँसो करिब १:३० बजे (भारतीय समय) क्लाउडबर्स्ट हुँदा खीरगंगा नदी एकाएक बढेर पहाडबाट ठुलो बाढी झरेको हो।

धाराली गाउँ गंगोत्री मार्गमा पर्छ र यो गर्मीयाममा पर्यटकहरूका लागि लोकप्रिय गन्तव्य हो। यहाँबाट करिब २ किलोमिटर टाढा हर्सिलमा ठुलो सैनिक शिविर रहेको छ भने इन्डो-तिब्बती सीमा प्रहरीको शिविर पनि नजिकै छ।

धाराली नजिकैको भागीरथी नदीको केही भाग हिलो र मलुवाले थुनिँदा कृत्रिम ताल बनेको छ जसले हेलिप्याडसमेत डुबाएको छ। यदि समयमै पानी निकाल्न सकिएन भने तलका गाउँहरूलाई ठुलो खतरा हुन सक्ने अधिकारीहरूको भनाइ छ।

धाराली चारधाम यात्राको एक प्रमुख बिन्दु हो तर मनसुनमा पर्यटकको आवागमन कम हुने भएकाले ठुलो जनधनको क्षति टरेको हो।

उत्तराखण्ड राज्य पहाडी भेगमा पर्ने भएकाले यहाँ बाढी र पहिरोको जोखिम सधैं रहन्छ। सन् २०१३ मा आएको प्रलयकारी बाढीले हजारौंको ज्यान लिएको थियो भने २०२१ मा पनि क्लाउडबर्स्टका कारण २०० भन्दा बढीको मृत्यु भएको थियो।

अधिकारिहरूले अहिले पनि भारी वर्षाको चेतावनी दिँदै पर्यटक र स्थानीय बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेका छन्।