काठमाडौं - पाकिस्तानको खैबर पख्तुनख्वाको कराक जिल्लामा आतंककारी आक्रमणमा चार सुरक्षाकर्मीको मृत्य भएको छ। अमनकोट तोवे क्षेत्रस्थित गुरगुरी प्रहरी चौकी नजिकै अज्ञात सशस्त्र समूहले उनीहरूको गाडीलाई लक्षित गरी एम्बुस थापेका थिए।

सुरक्षा ड्युटीबाट फर्किंदै गरेका एफसी जवानमाथि गुरगुरी पहाडमा लुकेर बसेका आक्रमणकारीहरूले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। सोही क्रममा घटनास्थलमै चारै जना जवानको मृत्यु भएको बताइएको छ।

प्रारम्भिक जानकारी अनुसार मृतक जवानहरू लक्की मारवात र ट्याङ्क जिल्लाका बासिन्दा थिए।जिल्ला प्रहरी अधिकारी (डीपीओ) शाहबाज इलाहीका अनुसार आक्रमणपछि सुरक्षा बलले तत्काल क्षेत्र घेराबन्दी गरी सर्च अपरेसन सुरु गरेको छ। ‘आतंककारीहरूलाई भाग्न नदिन आन्तरिक तथा बाह्य सबै मार्गहरू बन्द गरिएका छन्,’ डीपीओले बताए।

सुरक्षाकर्मीहरू पहाडी क्षेत्रमा व्यापक रुपमा खोजी अभियानमा खटिएका छन् भने स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरिएको छ।