काठमाडौं - म्यान्माको कायिन राज्यको हपाअन बस्तीमा बाढीका कारण १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।
दुई हजार दुई सय ९८ घरपरिवारका गरी कुल १० हजार तीन सय ९५ जनालाई २४ अस्थायी आश्रममा सारिएको समाचारमा जनाइएको छ ।
भारी वर्षापछि थानल्विन नदी खतराको स्तरभन्दा माथि पुगेका कारण विपद् व्यवस्थापन समितिका सदस्य, अग्नि नियन्त्रक, म्यान्मा रेडक्रस सोसाइटी र समुदायमा आधारित संस्थाहरूले उनीहरूलाई सो क्षेत्रबाट अन्यत्र सारेका हुन्।
बिहीबार मौसम विज्ञान तथा जलविज्ञान विभागका अनुसार हपा–अनको नदी खतराको स्तरभन्दा करिब छ फिट माथि पुगेको छ र अर्को दिन पनि जोखिममा रहने अनुमान गरिएको छ ।
कायिन राज्य सरकारले दाताहरूसँगै आधारभूत खाद्यान्न आपूर्ति गरिरहेको छ भने स्वास्थ्य मन्त्रालयले चिकित्सा उपचार र सेवाहरू प्रदान गरिरहेको छ ।



0 comment