काठमाडौं - आज रसियामा आएको  ८.८ रिक्टर स्केल शक्तिशाली भूकम्पपछि जापान र अमेरिकाले सुनामीको चेतावनी जारी गरेको छ  ।

अमेरिकी अधिकारीहरूले अलास्का र हवाईका लागि सुनामी चेतावनी जारी गरेका छन्। उनीहरूले हवाईमा तीन मिटर अग्ला छालहरू आउन सक्ने बताएका छन्। अमेरिकाको प्रशान्त महासागरमा रहेको टापु गुआममा पनि १ देखि ३ मिटर सम्म अग्ला छालहरू आउन सक्ने चेतावनी होनोलुलुस्थित अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रले दिएको छ।

जापानको मौसम एजेन्सीले पनि  जापानको ठूला तटीय क्षेत्रमा तीन मिटर सम्म अग्ला सुनामी छालहरू आइपुग्ने चेतावनी दिएको छ।

सुनामी भनेको शक्तिशाली छालहरूको श्रृंखला हो जसले ठूलो क्षति पुर्‍याउन सक्छ।

जापानी सरकारले प्रशान्त तटीय क्षेत्रमा बसोबास गर्ने जनतालाई स्थान खाली गर्न आदेश दिएको छ।  सुनामीका कारण क्षति हुने सम्भावना रहेकोले तटीय तथा नदी किनार क्षेत्रबाट उच्च स्थान वा सुरक्षित भवनमा तुरुन्तै जान त्यहाँको सरकारले भनेको छ । सुनामी छालहरू बारम्बार आउन सक्ने हुनाले चेतावनी नहटेसम्म सुरक्षित स्थान नछाढ्न भनिएको छ ।

होनोलुलुको आपतकालीन व्यवस्थापन विभागले पनि केही तटीय क्षेत्रमा  विनाशकारी सुनामी छालाहरू आउने सम्भावना रहेकोले  स्थान खाली गर्न भनेको छ ।

रसियाको सुदूर पूर्वमा रहेको कामचटका प्रायद्वीपमा पनि ३–४ मिटर अग्लो सुनामी छाल मापन गरिएको रसियन अधिकारीहरूले बताएकाले छन्।

रसियाको सुदूरपूर्वी कामचटका प्रायद्वीप नजिक बुधबार ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

कामचटका गभर्नर भ्लादिमिर सोलोदोभले आजको भूकम्प गम्भीर थियो र दशकमै सबैभन्दा शक्तिशाली भएको बताएका छन् ।  भुकम्पमा केही घाइते भएको र  एउटा बालविकास केन्द्रमा क्षति पुगेको बताईएको छ ।

कामचटका केही भागमा ३ देखि ४ मिटर अग्लो सुनामी छाल मापन गरिएको क्षेत्रीय आपतकालीन मन्त्री सेर्गेई लेबेदेभले जनाएका छन्। उनले जनतालाई तटीय क्षेत्रबाट टाढा जान आग्रह गरेका छन् ।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार यो भूकम्प सतहबाट १९.३ किलोमिटर गहिराइमा रहेको र यसको केन्द्र पेट्रोपाभ्लोभ्स्क-कामचात्स्की शहरदेखि पूर्व-दक्षिणपूर्वतर्फ करिब १२५ किलोमिटर टाढा थियो।

भूकम्पको प्रारम्भिक म्याग्निच्युड ८.० बताइएको भए पनि पछि त्यसलाई ८.८ मा सुधार गरिएको हो।

यस शहरको जनसंख्या करिब १ लाख ६५ हजार रहेको  छ र यो अवाचा बेको किनारमा अवस्थित छ। कामचटका क्षेत्र र रूसको सुदूरपूर्वी भूभाग प्यासिफिक रिङ अफ फायरमा पर्छ जुन एक भूगर्भिक रूपमा सक्रिय क्षेत्र हो र यहाँ ठूला भूकम्प र ज्वालामुखी विस्फोटहरू हुने सम्भावना उच्च हुन्छ।