काठमाडौं - रूसको पूर्वी अमूर क्षेत्रमा विमान दुर्घटना भएको छ। अंगारा एयरलाइन्सको एंटोनोव एएन-२४ नामको यात्रुबाहक विमान बिहीबार जङ्गलमा खसेको हो। विमानमा झण्डै ५० जना सवार थिए। प्रारम्भिक जानकारीअनुसार कोही पनि बाँच्ने सम्भावना देखिदैन।

रूसी आपतकालीन सेवाका अनुसार विमानको भग्नावशेष  जङ्गलमा जलिरहेको अवस्थामा भेटिएको छ। हेलिकप्टरबाट लिइएका तस्वीरहरूमा विमानको अघिल्लो भाग आगोले ढाकिएको देखिन्छ। उद्धार टोली घटनास्थलतर्फ गइरहेका छन् । तर जङ्गल गहिरो भएकाले पुग्न कठिनाई भइरहेको छ।

विमान उडिरहेको बेला अचानक रडारसँग सम्पर्क विच्छेद भएको थियो। त्यसपछि जङ्गलमा खसेको पुष्टि भयो। अहिले दुर्घटनाको कारण खुल्न बाँकी छ, तर मौसम खराब वा प्राविधिक समस्या भएको अनुमान गरिएको छ। सरकार र उद्धार निकायले घटनाको छानबिन थालेका छन् ।