काठमाडौं - भियतनाममा पर्यटक बोक्ने डुंगा पल्टिदा कम्तीमा ३४ जनाको ज्यान गएको छ भने केही अझै हराइरहेका छन् ।
खराब मौसमका कारण डुंगा पल्टिएको हो ।
यो घटना देशको उत्तरतर्फ रहेको लोकप्रिय पर्यटकीय स्थल हा लङ बेमा भएको हो । खासगरी यात्रुहरू हनोईबाट आएका भियतनामी परिवारहरू भएको बताइएको छ।
भारी वर्षाले जीवित मानिसहरूको खोजीमा अवरोध पुर्याएको उद्धारकर्ताहरूले जनाएका छन् । ११ जनालाई भने पानीबाट जीवितै निकालिएको छ।
वन्डर सिज नामक डुंगा ५३ जनालाई लिएर जाँदै गर्दा एक्कासी आएको आँधीका कारण पल्टिएको भियतनामी सीमा सुरक्षा बल र नौसेनाले जानकारी दिएका छन्।
एक प्रत्यक्षदर्शीका अनुसार शनिबार स्थानीय समय अनुसार दिउँसो २ बजे एक्कासी ठूला टूला असिना, मूसलधारे पानी, गडगडाहट र चट्याङ परेको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार १० वर्षीय बालक डुङ्गाको उल्टिएको भागको हावाले भरिएको खाली ठाउँमा थुनिएको अवस्थामा उद्धार गरिएको छ।
फेला परेका शवमध्ये कम्तीमा आठ जना बच्चा रहेको जनाईएको छ।
अझै हराइरहेका व्यक्तिहरूको खोजीका लागि उद्धार कार्य जारी छ । प्रधानमन्त्री फाम मिन चिन्हले मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।
सरकारको एक विज्ञप्तिमा भनिएको छ कि दुर्घटनाको कारणको अनुसन्धान गरिनेछ र उल्लंघन गर्नेलाई कडा कारबाही गरिनेछ ।
हा लङ बे, क्वाङ निन्ह प्रान्तमा अवस्थित सयौं साना टापुहरूले भरिएको क्षेत्र हो जसले २०१९ मा ४ मिलियन पर्यटकहरूलाई आकर्षित गरेको थियो । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत स्थल पनि हो।



0 comment