काठमाडौं - कर्णाली प्रदेशको सुर्खेतस्थित कोपिला भ्याली स्कुलले ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार–२०२५’ अन्तर्गत ‘पर्यावरणीय पहल’ विधामा उत्कृष्ट १० मा स्थान बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हासिल गरेको छ।
बेलायतस्थित टी–फोर एजुकेसनले हरेक वर्ष विश्वभरका विद्यालयहरूलाई विभिन्न विधामा उत्कृष्ट विद्यालयको रुपमा सम्मान गर्दै आएको छ। यस वर्ष वातावरणीय संरक्षणसम्बन्धी कार्यका लागि कोपिला भ्याली स्कुललाई विश्वका उत्कृष्ट १० विद्यालयमध्ये एकको रुपमा छनोट गरिएको हो।
विद्यालयका अध्यक्ष टोपबहादुर मल्लका अनुसार यो उपलब्धि नेपालका लागि गर्वको विषय हो। ‘विद्यालयस्तरबाट वातावरण संरक्षणको क्षेत्रमा नेपालले विश्वमा पहिलोपटक यस प्रकारको पहिचान पाएको छ,’ अध्यक्ष मल्लले भने, ‘अब उत्कृष्ट बन्न जनस्तरको साथ र भोट आवश्यक छ।’
अबुधाबीमा आगामी नोभेम्बर १५ देखि १६ तारिखसम्म हुने ‘विश्व स्कुल्स समिट २०२५’ मा उत्कृष्ट १० मा परेका विद्यालयहरूले सहभागिता जनाउनेछन्। सोही सम्मेलनमा अन्तिम विजेता घोषणा गरिनेछ।
विद्यालयका प्रधानाध्यापक राजेनकुमार कार्कीका अनुसार शीर्ष १० विद्यालयबीचको अन्तिम प्रतिस्पर्धा भोटिङमार्फत हुने भएको छ। भोटिङ प्रक्रिया सुरु भइसकेको छ र अब पाँच दिन मात्र बाँकी रहेकोले सम्पूर्ण नेपालीलाई मतदान गरेर विद्यालयलाई जिताउन आग्रह गरिएको छ।
यसरी गर्नुहोस् भोटिङ :
सन् २०१९ मा स्थापना गरिएको कोपिला भ्याली स्कुलले सामाजिक, आर्थिक र वातावरणीय दृष्टिले सीमान्तकृत बालबालिकालाई लक्षित गर्दै दिगो शिक्षाको अभ्यास गर्दै आएको छ। विद्यालयको हरियाली क्याम्पसमा विद्यार्थीहरूले पुनर्चक्रण, जल संरक्षण, पुनर्जन्म कृषि, एक्वापोनिक्स र शून्य–फोहोर अभियानमा व्यावहारिक शिक्षा हासिल गरिरहेका छन्।
विद्यालयले हालसम्म ९१ प्रतिशत फोहोरलाई ल्यान्डफिलमा जानबाट जोगाउँदै वातावरणमैत्री अभ्यासलाई जीवनशैलीको रुपमा विकास गरेको छ। यो तथ्य अन्तर्राष्ट्रिय स्तरमै उदाहरणीय मानिएको छ।
विद्यालयमा छात्राहरूको सहभागिता ५० प्रतिशतभन्दा बढी छ। उनीहरू महिनावारी स्वच्छता, लैङ्गिक हिंसाविरुद्धको जनचेतना र वातावरण–मैत्री अभ्यासमा सक्रिय छन्। यसले विद्यालयको लैङ्गिक समानता र सामाजिक न्यायप्रतिको प्रतिबद्धता झल्काउँछ।
कोपिला भ्याली स्कुलमा हाल देशभरका शिक्षक, शिक्षा अधिकारी, नीति–निर्माता र सामाजिक अभियन्ताहरू अध्ययन भ्रमणमा आउने गरेका छन्। विद्यालयको खुला स्रोत शिक्षण मोडेलले राष्ट्रिय पाठ्यक्रम निर्माणमा समेत प्रभाव पारिरहेको छ।
देशको सान र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न कोपिला भ्याली स्कुलको प्रयासले ‘शिक्षा र वातावरण’को समन्वयमार्फत दिगो भविष्य निर्माण सम्भव छ भन्ने सन्देश दिएको छ।
यसैबीच प्रधानमन्त्रीले केपी शर्मा ओलीले कोपिला भ्याली स्कुललाई विश्वकै उत्कृष्ट १० विद्यालयको मनोनयनमा पर्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले एक सन्देश जारी गर्दै भनेका छन्, ‘यो केवल एक विद्यालयको पहिचान मात्र होइन, समग्र राष्ट्रका लागि गर्वको क्षण हो। पहिलोपटक नेपालको कुनै विद्यालय विश्वकै उत्कृष्ट, नवप्रवर्तनशील र प्रभावकारी शैक्षिक संस्थाको सूचीमा समावेश हुनु ऐतिहासिक उपलब्धि हो।’
प्रधानमन्त्रीले कोपिला भ्याली स्कुलले शिक्षा, दृष्टिकोण, सहानुभूति र दिगोपनलाई केन्द्रमा राखेर जुन कार्य गरिरहेको छ, त्यसले नेपालको शिक्षा प्रणालीले पनि अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउन सक्छ भन्ने सम्भावनालाई पुष्टि गरेको उल्लेख गरेका छन्।प्रधानमन्त्रीको यो सन्देशसँगै विद्यालय तथा सम्पूर्ण नेपाली शैक्षिक समुदायमा उत्साह थपिएको छ।


0 comment