काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध अब समाप्त भएको बताएका छन्।

शनिबार  एनबिसि न्यूजसँगको अन्तर्वार्तामा मस्कसँगको निकट सम्बन्ध अब  अन्त्य भएको हो भन्ने प्रश्नमा उनले “हो” भनेका छन् । साथै सम्बन्ध सुधार्ने चाहना छ कि भनी सोधिएको प्रश्नमा  उनले "छैन" भनेर जवाफ दिएका छतन् ।

ट्रम्प र मस्कबीचको सार्वजनिक झगडापछि ट्रम्पले यस्तो टिप्पणी गरेका हुन्।

यो विवाद त्यसबेला चर्किएको थियो जब उद्यमी मस्कले ट्रम्पको प्रमुख आन्तरिक नीति मानिने कर र खर्चसम्बन्धी विधेयकको सार्वजनिक रूपमा आलोचना गरे। मस्कले ट्रम्पको चुनाव अभियानमा करोडौं डलर सहयोग गरेका थिए र उनी ट्रम्प प्रशासनमाको सरकारी दक्षता विभागको प्रमुखसमेत बनेका थिए।

रिपब्लिकन पार्टीका धेरै सदस्यहरूले ट्रम्पको पक्ष लिएका छन्। उपराष्ट्रपति जेडी भान्सले मस्कले चरम प्रतिक्रिया दिएको र उनले कहिल्यै पनि पार्टीमा स्वागत नपाउन सक्ने संकेत गरे।

भान्सले टेस्ला र स्पेसएक्सका सिइओ मस्कले राष्ट्रपतिको नीतिमा यस्तो हमला गर्नु ठूलो गल्ती भएको बताएका छन् ।

मस्कले ट्रम्पको विधेयकको आलोचना गर्दै आएका थिए। यो विधेयक पारित भएमा  राष्ट्रिय घाटामा ट्रिलियन डलर थप्ने र सरकारी खर्च कटौती गर्ने सरकारी दक्षता विभागको प्रयासलाई कमजोर पार्ने उनले दाबी गरेका थिए।

विभागको  प्रमुखबाट १ सय २९ दिनपछि मस्कले X मा लेख्दै उक्त विधेयकलाई "घृणित विधेयक" भनेका थिए । यद्यपि उनले ट्रम्पको नाम भने उल्लेख गरेनन्।
तर बिहीबार पत्रकारहरूलाई ट्रम्पले भने, “म मस्कको व्यवहारबाट निराश छु।”

त्यसपछि मस्कले X मा एकपछि अर्को पोस्ट गर्दै ट्रम्पले आफुविना चुनाव जित्न नसक्ने बताएका थिए र ट्रम्पको नाम जेफ्री एप्स्टिनको फाइलमा रहेको आरोपसमेत लगाए। एप्स्टिन जेलमा यौन तस्करीको आरोपमा मृत्यु भएका थिए।
मस्कले पछि उक्त पोस्ट हटाएका छन् र एप्स्टिनका वकिलले पनि सो आरोप अस्वीकार गरेका छन्।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा प्रतिक्रिया दिँदै भने, “मस्क पागल भइसक्यो।” उनले मस्कसँगका संघीय सरकारका ठेक्का कटौती गर्ने धम्कीसमेत दिएका छन् ।

अन्तर्वार्तामा ट्रम्पले भनेका छन  “मस्कले राष्ट्रपतिको पदप्रति अपमानजनक व्यवहार गरिरहेका छन्। यो एकदमै खराब कुरा हो। राष्ट्रपतिको कार्यालयप्रति अपमान गर्न सक्नु हुन्न।”

विश्वकै सबैभन्दा धनी व्यक्ति मस्कले ट्रम्पको राष्ट्रपति अभियानमा झण्डै २ सय ५० मिलियन डलर दान गरेका थिए। पछिल्लो विवादमा उनले ट्रम्पको कर विधेयकलाई समर्थन गर्ने सांसदहरूको विपक्षमा उम्मेदवारलाई समर्थन गर्न सक्ने संकेत गरेका छन्।

मस्कले रिपब्लिकन उम्मेदवारहरूको विपक्षमा डेमोक्रेटहरूलाई समर्थन गरे भने के हुन्छ भनी ट्रम्पलाई सोधिएको प्रश्नमा उनले भने, “त्यो अवस्थामा मस्कले गम्भीर परिणाम भोग्नुपर्छ।”