काठमाडौं - यूक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसले हालसम्मकै ठूलो रुसी ड्रोन आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका मेयर इहोर तेरेखोभले बताएका छन्।
उनका अनुसार रूसले रातभरि ४८ वटा ड्रोन, दुई मिसाइल र चार ग्लाइडिङ बम प्रहार गरेको हो।
आक्रमणबाट तीनवटा अग्ला आवासीय भवनहरूमा हमला भएको छ। सार्वजनिक भएको भिडियोमा ती भवनमध्ये एउटा भवनको धेरै तल्लामा आगलागी भएको देखिन्छ ।
यसअघि रातभर भएको अर्को आक्रमणमा रूसले ४ सय भन्दा बढी ड्रोन र करिब ४० मिसाइल प्रहार गर्दा युक्रेनभरि छ जनाको मृत्यु भएको र ८० जना घाइते भएको थियो।
रूसले ती आक्रमणहरूलाई कीभ शासनद्वारा गरिएका आतङ्ककारी कार्यहरूको जवाफ भएको दाबी गर्दै आफ्नो निशाना सैन्य स्थानहरू भएको बताएको छ।
यो घटनाअघि यूक्रेनले रूसको भित्री क्षेत्रमा रहेका चारवटा हवाई आधारमा रणनीतिक युद्धविमानहरूलाई लक्षित गर्दै ड्रोन आक्रमणहरू गरेको थियो।
यूक्रेनी सुरक्षा सेवा एसबीयूले बताएको अनुसार अपररेशन स्पाइडर वेब अन्तर्गत कम्तीमा ४० रूसी विमानमा आक्रमण गरिएको थियो।
यूक्रेनले प्रयोग गरेका १ सय १७ ड्रोनहरू पहिले रूसभित्र तस्करी गरी लगिएको थियो । अनि काठका केबिनमा राखेर ट्रकको पछाडि राखिएको थियो, जसको माथि टाढाबाट चलाउन मिल्ने र लुकाउने किसिमको छानो जडान गरिएको थियो।
ती ड्रोनहरू टाढाबाट सञ्चालन गरी प्रक्षेपण गरिएको थियो।
रूसले फेब्रुअरी २०२२ मा यूक्रेनमा पूर्ण रूपमा आक्रमण शुरू गरेको हो।



0 comment