धेरै कुराहरू बोलिँदैछन्,
तर मौनता अझ चर्को सुनिन्छ—
सडकका कुना–कुनामा,
हाम्रा आँखा चिहाउने छानामा,
र टोल–टोल छिर्दै जाने खबरमा
जहाँ सत्य अब शंकासँग सुत्न थालेको छ।
जहा हाँसो बेचिन्थ्यो—
त्यही हाँसो अब पिञ्जडामा छ,
आँसुहरू सेल्फी बन्न थाले,
दया–मायाले पनि सर्त खोज्न थाले।
कसैको भोकको खबर बन्दैन,
तर अफवाह चाँडै ट्रेन्डिङ जान्छ।
शहरको मुटु धड्किन्छ अझै,
तर कसैको कानले सुन्दैन त्यो धड्कन—
कति सपना बल्छन् बिजुली बिनाको रातमा,
र कतिले अन्धकारमै पो जलाइदिन्छन् आफ्नो उज्यालो।
यहाँ
शिक्षा सस्तो छ,
तर ज्ञान महँगो।
स्वास्थ्य नीति छ,
तर बिरामी औषधिविनाको प्रतीक्षालयमा छ।
शासकको भाषण लामो छ—
अर्थहीन, थाकेका कानका लागि शोर मात्रै।
र जनता ?
उनीहरू अब ताली बजाउने मेशिन जस्ता।
अझै पनि बच्चा जन्मिन्छ,
तर उनीहरूलाई अब "भविष्य" होइन,
"अवसर" भनेर बिक्री गरिन्छ।
तर—
म एक कवि हुँ,
कलमले आँसु पुछ्छु,
शब्दहरूले काँडा टिप्छु,
र हरेक दिन एक चिच्याहट लेख्छु
शहरको मौनताभित्र।
किनभने म बाँच्न चाहन्छु—
साँचो उज्यालोको सम्भावनामा,
जहाँ प्रेमले राजनीति जित्छ,
र मानिस फेरि मान्छे हुन पाउँछ।




0 comment