काठमाडौं - युट्युबर ज्योति मल्होत्रालाई पाकिस्तानका लागि जासूसी गरेको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको छ। हरियाणाको हिसारस्थित न्यू अग्रसेन कोलोनी निवासी मल्होत्रालाई शनिबार सीजेएम अदालतमा पेस गरी पाँच दिनको प्रहरी हिरासतमा राखिएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार, उनलाई सन् २०२३ यता पाकिस्तानी गुप्तचर संस्था आइएसआईका अधिकारीहरूसँग सम्पर्कमा रही भारतका संवेदनशील जानकारी पाकिस्तान पठाएको आरोप लागेको छ।
ज्योतिका सम्बन्ध दिल्लीस्थित पाकिस्तान उच्चायोगका अधिकारी अहसान-उर-रहीम उर्फ दानिशसँग पनि रहेका थिए। भारत सरकारले दानिशलाई जासूसीको आरोपमा १३ मेमा देशनिकाला गरेको थियो। त्यसअघि, ज्योति उनीसँग दिल्लीमै भेटेर फर्किएकी थिइन्।
ज्योति मल्होत्राको युट्युब र अन्य सामाजिक सञ्जालमा लाखौं फलोअर्स छन्। उनीमाथिको आरोप पुष्टि भएमा यो सामाजिक सञ्जालको माध्यमबाट भइरहेको सम्भावित जासूसीको गम्भीर मुद्दा बन्नेछ।


0 comment