खाली खाली छ अहिले त्यो गाउँ,जहाँ 

रोएको थिएँ पहिलो चोटि,आमाको काखको छायाँ भित्र

जहाँ माटोले बोल्थ्यो माया,

र ढिस्कोले सुनाउँथ्यो कथा — मेरै बालापनको।

 

अब ती पाखाहरू चुप चाप छन्,

छिमेकीका घरहरू ,सुनसान, आँगनमा न हाँसो न त गीत।

बटुवाहरू हराएका छन्,

मलिलो खेतहरू बाँझो भइसके,

र चराहरू... तिनले पनि बिर्सिए झैं छ खिपिङ्गकोबाटो।

 

कता हरायो त्यो साँझको आगोको ताप?

बुढी आमाको हातमा थियो जुन रोटी,

अब त्यो हात छैन,

र भोक छैन शरीरलाई भन्दा बढी आत्मालाई

 

घाम अझै उस्तै लाग्छ, तर न्यानो छैन,

पानी बग्छ अझै खोल्सामा, तर स्वर छैन,

न त ढुक्क छु अब त्यो माटो टेक्दा,

किनकि त्यो माटो बोल्दैन—

जसले एक दिन मलाई “छोरो” भनेको थियो।

 

कति सपना थिए रोपिएका उहीँ,

र तिनै सपनाहरू अहिले टुसाउन रोइरहेछन्—

कुनै कुना कुनामा, बिर्सिएको टुहुरो बीऊजस्तै।

 

खिपिङ्ग गाउँ…

तिमी त थिएँ म—मेरो पहिचान, मेरो रगत, मेरो नाम,

तर आज तिमी आफैं हराइरहेछौ,

र म त भित्रभित्रै रित्तिइरहेछु,

खाली हुँदै… तिमी सँगसँगै।